आगामी फागुन २४ गते धरान एक्स्पोको अन्तिम दिन गंगा वरदान सहयोगार्थ साङ्गीतिक कार्यक्रममा गायक धिरज राई र गायिका मिलन नेवारले प्रस्तुति दिने भएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा गत फागुन ११ गतेदेखि  धरान रंगशालामा आयोजना भइरहेको धरान एक्स्पोको एकदिन समय थप गरिएको छ । बिहीबार वरिष्ठ लोकगायक गंगा वरदानको आर्थिक सहयोगार्थ साङ्गीतिक कार्यक्रम  समर्पित गरिने सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ लोकगायक गंगा वरदानको  लागि गरिने उक्त च्यारिटी कन्सर्टमा चर्चित पप गायक धीरज राई, चर्चित गायिका मिलन नेवारसँगै  स्थानीय कलाकार आस्था एण्ड  द  ब्रदस र शीर्षक एण्ड द फ्रेन्ड्सको प्रस्तुति रहनेछ । कार्यक्रममा गंगा वरदानले समेत आफ्ना नयाँ पुराना गीत प्रस्तुत गर्नेछन् ।

गायक राईले लुकी लुकी आँखा तिमी, तिम्रा नयन, तिमी रुँदा , सोइ ढोले सोई, जाउ समाऊ, हिमाल नझुकेसम्म जस्ता थुप्रै चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । पछिल्लो समय बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियान लिएर उनी विश्व संगीत यात्रामा छन्। 

त्यस्तै  जहिले सम्म संसारमा, गाला रातै, इट्स स्लोली, फुलबुट्टे सारी, सुनसान रातमा, जनम जनम लगायतका थुप्रै गीतमार्फत चर्चित  भोइस अफ नेपालकी कोच समेत रहेकी मिलनले दर्शकलाई नचाउने छिन् ।

साथै वरिष्ठ लोकपप गायक वरदानले आफ्ना छपनीले छान छान डबकीले हान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सिमसिम पानी, माया गर्ने बानी, जीउको मासु, धराने हावाजस्ता चर्चित गीत प्रस्तुत गर्नेछन् ।

उमेरले ७१  वर्ष काटिसकेका छन् वरदानले संगीत क्षेत्रमा ५० वर्षे लामो यात्रा तय गरिसकेका छन्।  भोजपुरको दिङ्ग्लामा जन्मेका गायक वरदान श्रीमतीका साथ धरान -१४ विजयपुरमा घर वहालमा बस्दै आएका छन्। 

आर्थिक अवस्था कमजोर भएकोले सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा सेवक अभियान र धरान संगीत प्रतिष्ठानको संग्लनतामा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमबाट उठेको सम्पूर्ण रकम गंगा वरदानले मासिक रुपमा पाउने गरी स्थानीय बैंकमा जम्मा गरिने आयोजकले जनाएको छ।