मुकुन भुषाल नेपाली चलचित्र उद्योगमा आफ्नो कामप्रतिको समर्पणका कारण दर्शकमाझ सुपरिचित अभिनेता हुन् । सन् २०१९ मा राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘बुलबुल’बाट फिचर फिल्ममा ‘डेब्यू’ गरेका उनले सन् २०२२ मा व्यवसायिक रुपमा सफलता प्राप्त चलचित्र ‘झिंगेदाउ’ र सन् २०२३ मा आएको चलचित्र ‘गणपति’ र ‘एैंचो पैंचो’ बाट दर्शकको मन जित्न सफल भए । हालै उनले रेखा थापाले निर्माण गरेको चलचित्र ‘उपहार’ मा चरित्र अभिनेताका रुपमा काम गरेका छन् । ‘लभस्टोरी सोसल ड्रामा’ चलचित्रमा अभिनेता भुषालले एक महत्वकांक्षा बोकेर संघर्ष गरिरहेको निम्न वर्गीय पात्रको प्रतिनिधित्व गरेका छन् ।

सन् २०१८ मा शोभित विश्वविद्यालयको एक डिभिजन, मारवाह स्टुडियो, नोएडाबाट आफ्नो अभिनय डिग्री प्राप्त गरेका अभिनेता भुषाल चरित्रलाई न्याय गर्ने अभिनेताका रुपमा दर्शकमाझ छाप छाड्न सफल छन् । यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘उपहार’ मा उनले दर्शकलाई निराश नबनाउने प्रतिबद्धता गरेका छन् । 

‘ब्लाष्ट’सँगको कुराकानीमा अभिनेता भुषालले चलचित्रमा आफ्नो चरित्र बारे भने– ‘मेरो ‘क्यारेक्टर’ चलचित्रमा सर्वसाधारण नागरिकको छ । ‘नर्मल्ली’ बाटोमा हिंड्दाखेरि ठोक्किने ‘क्यारेक्टर’, केही महत्वकांक्षा बोकेर हिंड्या छ । त्यो ‘जर्नी’मा जाँदाखेरि आइपर्ने उतारचढाव केही गर्न खोज्दाखेरी काम नहुने अथवा नसोचेका काम पनि भइदिने, जसरी एउटा निम्न वर्गीय जिन्दगी चलिरहेको छ त्यस्तो पात्रको प्रतिनिधित्व मेरो चरित्रले गरेको छ ।’ 

दर्शकहरुले अघिल्ला चलचित्रको तुलनामा आफ्नो चरित्रप्रति निश्चय नै अपेक्षा गरेको बताउँछन् अभिनेता भुषाल । ‘मेरो पनि केही ‘एस्पेक्टेसन’ छ यो चलचित्रलाई लिएर । मेरो पहिलो चलचित्र ‘बुलबुल’ गर्दै गर्दाखेरि त्यो पात्र अत्यधिक रुचाइएको थियो । त्यो पात्र एकदमै भीडबाटै उठाएर ल्याइएको थियो । त्यो पात्रलाई ‘ओभरल्याप’ गर्ने गरीका पात्रहरु पक्कै पनि अन्य सिनेमामा भएनन् ।’ अभिनेता भुषाल भन्छन्,‘मलाई हेर्न चाहाने दर्शकहरूले जुन अपेक्षा राख्नु भएको छ, मेरो कामले पक्कै पनि निराश बनाउँदैन जस्तो लाग्छ । मैले आफूले सक्दो र ‘डिरेक्टर’ले मबाट खोजेको काम चाहिँ मैले गरेको छु ।’ 

चलचित्र ‘उपहार’ महिला चरित्र प्रधान चलचित्र हो । महिला सशक्तीकरणका मुद्दाहरु र महिलाका समस्याहरुको कथा चलचित्रले भन्छ । यसैमा महिला पात्रलाई सघाउने, उनीहरूलाई स्थापित हुन र आत्मनिर्भर हुन पुरुष पात्रको पनि उत्तिकै महत्व दर्शाउने पात्रका रुपमा चलचित्रले पुरुष पात्रलाई प्रस्तुत गरेको अभिनेता भुषाल बताउँछन् । उनी भन्छन्, ‘म पनि यो ‘फिल्ड’मा अगाडि जानुपर्छ । दर्शकलाई निराश बनाउने ‘क्यारेक्टर’ चाहिँ छैन । निर्देशकले मलाई गराएअनुसार मैले काम गरेको छु ।’

चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रमा मुकुनसँगै रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथासँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । चलचित्रको ‘ट्रेलर’ सार्वजनिक भइसकेको छ ।