पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले कस्तो क्षणिक लाभ र दीर्घकालीन असर पार्छ भन्ने कथानकमा आधारित अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘रङ्गेली’ आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । 

‘चलचित्र ‘रङ्गेली’मा मेरो भूमिका अघिल्ला चलचित्रभन्दा फरक छ । यस चलचित्रमा नायक र खलनायक दुवै भूमिकामा मलाई देख्नसक्नुहुनेछ’, अभिनेता राईले भने, ‘सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने चरित्र छ ।’

अभिनेता राईले  चलचित्रमा एक आपाराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले धेरै समय पश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताए । 

चलचित्रमा अभिनेत्री मिरुना मगरले थारु समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छन् । ‘मेरो चलचित्र यात्राकै एक सशक्त भूमिका यसमा निर्वाह गरेकी छु । किनकि यसमा मेरो भूमिका नाचगानमा मात्र सीमित छैन । चलचित्रमा नायिकाको भूमिका पनि बलियो छ’, अभिनेत्री मगरले भनिन् । 

‘चलचित्रमा दया र मिरुनाको जोडी’

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ । 

गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पश्चात यो जोडीले ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’ लगायतका चलचित्रमा काम गरिसकेको छ । 

‘हाम्रो जोडीलाई दर्शक र निर्माता निर्देशकले रुचाउनुभएकै कारण चलचित्रमा अभिनयको प्रस्ताव आइरहेका छन् । सोही कारण सुहाउँदो भूमिकालाई स्वीकार गरेर चलचित्रमा काम गरिरहेका छौँ”, अभिनेता राईले भने । 

अभिनेता राई हालका व्यस्त अभिनेतामा पर्छन् । यस वर्ष मात्र उनले दशभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । सोही कारण पनि उनको चरित्र उस्तै देखिने गरेको गुनासो बढ्ने गरेको छ । अभिनेता राई पनि यस विषयमा जानकार छन् । 

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रङ्गेली’ मा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गरेका छन् ।