पारिवारिक द्वन्द्वबाट सिर्जित समस्याका कारण बाल मनस्थिति पर्ने प्रभावलाई कथानक बनाई निर्माण गरिएको 'म्युजिकल फिल्म' 'निको नहुने रोग' को च्यारिटी गरिने भएको छ ।

१६ मिनेटको छोटो गीति चलचित्र आगामी फागुन २६ गते धरानको वराह कम्प्लेक्सस्थित फ्रेण्ड्स सिनेमामा 'च्यारिटी शो' गरिने मंगलबार पत्रकार महासङ्घ सुनसरीको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

घरमा श्रीमान- श्रीमतीबीचको आन्तरिक कलह र द्वन्द्वका कारण बालमष्तिष्कमा पर्ने प्रभाव 'निको नहुने रोग' मा परिणत हुनसक्ने सामाजिक मनोविज्ञानमा आधारित चलचित्र निर्माण गरिएको निर्माता याख्खाले जानकारी दिए । उनले साङ्गीतिक पृष्ठभूमिमा बालमनोविज्ञानमा आधारित कथालाई मिहिन ढंगले कथामा उतार्ने प्रयत्न गरिएको बताए ।

धनकुटाको राजारानीमा छायांकन गरिएको चलचित्रलाई देउकृष्ण लिङ्खा याख्खाले निर्देशन गरेका छन् । चलचित्रको गीतमा स्वर, शब्द, सङ्गीत आधुनिक देवान (भूमिराज) को रहेको छ ।

चलचित्रको छायांकन सुमन तामाङले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन् । चलचित्रमा भुवनसहित विमला खजुम लिम्बू, युनिशा राई, सोनिका याख्खालगायतको अभिनय रहेको छ ।

चलचित्रको च्यारिटी शोबाट सङ्कलित रकम ३० हजार रुपैयाँ मृगौला रोगबाट पीडित गायक नवराम राईलाई आर्थिक सहयोगस्वरुप उपलब्ध गराउने  नायक निर्माता याख्खाले जानकारी दिए ।