धरान । अगस्त्य च्याप्टर १ आज (शुक्रबार)बाट प्रदर्शनमा आउँदै छ । उक्त फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट प्रदान गरेको छ ।

१६ वर्षभन्दा मुनिका बालबालिकाले फिल्म हेर्न जाँदा अभिभावकलाई लानु पर्नेछ । यो फिल्म विश्वभरि एकसाथ रिलिज गर्न लागिएको हो । फिल्मको निर्देशन सौरभ चौधरीले गरेका हुन् ।

फिल्मले देशभरि उच्च शो प्राप्त गरेको छ । देशकै ठूलो मल्टिप्लेक्स मानिएको चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ । देशभरका एक सय ११ फिल्म हलले फिल्मलाई दुई सय ५९ शो प्रदान गरेको छ । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल आदि कलाकार छन् ।

फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङ्कङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुन लागेको हो ।