'सिनेमा पर्यटनको आधार' नारा तय गर्दै चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौँडामा सुरु भएको छ ।

स्थानीय ठाउँलाई नेपाली सिनेमामार्फत् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय भेला सुरु भएको हो । स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघले आयोजना गरेको राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । फागुन ८ गतेसम्म चल्ने भेलामा  सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा संवाद हुने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।

फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ । 

भेलामा चलचित्र पत्रकारितामा क्रियाशील १०० बढी पत्रकार, चलचित्र निर्माता, निर्देशक, चलचित्रकर्मीहरूको उपस्थिति रहेको चलचित्र पत्रकार सङ्घ कोशी प्रदेशका सल्लाहकारसमेत रहेका चलचित्र निर्देशक एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईले जानकारी दिए । कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र  चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुने उनले बताए ।

भेलामा प्रेस काउन्सिल नेपालले विट पत्रकारिता र  आचारसंहिता, विज्ञापन बोर्डले अनलाइन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्ने बताइएको छ । फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोसन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयहरूमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्रप्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताको उपस्थितिमा कार्यक्रममा हुनेछ ।

संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको छ । 

ऐन नबन्दा चलचित्र क्षेत्रमा समस्या: अध्यक्ष केसी 

प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटनपछि बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन नबन्दा चलचित्र क्षेत्रको विकासका काम गर्न समस्या भइरहेको बताएका छन् ।

चलचित्र ऐन निर्माणका लागि बोर्डले काम गरिरेहको बताउँदै उनले नेपाली चलचित्र क्षेत्र वर्तमान अवस्थामा आइपुग्नुमा पत्रकारहरुको अहम भूमिका रहेको बताए ।

विदेशी चलचित्रको अतिक्रमणबाट बचाउने र नेपाली चलचित्रलाई प्रोत्साहन गर्नेतर्फ पत्रकारहरुले भूमिका खेल्नुपर्ने उनले बताए । नेपालमा चलचित्र निर्माणका लागि स्टुडियो नहुँदा समस्या भइरहेको अध्यक्ष केसीले बताए ।