धरान । ब्रिटिस गोर्खाली सैनिकले मलायामा लडेको युद्धको कथामा आधारित ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’ को धरानमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ ।

शनिबार दिउँसो धरानमा पञ्चेबाजा तथा विभिन्न जातजातिका सांस्कृतिक झाँकी र बाजागाजासहित बजार परिक्रमा गरेर चलचित्रको रेडकार्पेट प्रिमियर गरिएको हो । धरानको छाताचोकबाट निस्किएको लिम्बू, राई, तामाङ, नेवारलगायत विभिन्न समुदायको पहिरन र बाजागाजा तथा लाहुरे तालिम केन्द्रको ¥याली पुरानो बजार, भानुचोक हुँदै धरान–८ स्थित फ्रेन्ड सिनेमा हल पुगेको थियो ।

चलचित्र प्रदर्शनअघि सफलताको शुभकामना व्यक्त गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसारमा पहिचान बनाउन सफल वीर गोर्खालीको कथा फेरि गोर्खा वारियर चलचित्रमार्फत् संसारमाझ पु¥याउन खोजिएको भन्दै सफलताको कामना व्यक्त गरे । त्यस्तै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले पनि लाहुरेको कथामा बनेको चलचित्र लाहुरेकै सहरमा भव्य प्रिमियर शो भएकोमा धन्यवाद ज्ञापन गरे ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र यही फागुन ११ देखि सार्वजनिक प्रदर्शन हुने निर्देशक मिलन चाम्सले जानकारी दिएका छन् ।