धरान । गरिमा डान्स सेन्टर धरानले सांस्कृतिक नृत्य उत्सवको दोस्रो संस्करण बिहीबार धरान–१० स्थित सैनिक भवनमा सुरु भएको छ ।

उत्सवमा विभिन्न १२ जातिका सांस्कृतिक नृत्य प्रस्तुति गरिनेछ साथै विभिन्न जातिले लगाउने गहना, पहिरन स्टलमा प्रदर्शन गरिएको छ । सेन्टरले नृत्यसम्बन्धी पढाइ हुने आधारभूत नृत्य ज्ञान पुस्तकको समेत विमोचन गरेको छ । पुस्तकको विमोचन धरानका उपप्रमुख अइन्द्रविक्रम बेघा, प्रा.डा. टङ्कप्रसाद न्यौपाने र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले लोकार्पण गरे ।

पुस्तक गरिमा डान्स सेन्टरका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार राईले लेखेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बेघाले सेन्टरले धरानमा कला, संस्कृतिको जगेर्ना गर्ने काम गरेको बताए । नृत्यले मनोरञ्जन मात्रै नभएर सबै धर्म, संस्कार र जातिको मौलिकता झल्काउने भन्दै उत्सवले सबै जातिलाई ऐक्यबद्ध गर्न प्रयास गर्ने उनले बताए । तीन दिनसम्म उत्सव चल्नेछ ।

उत्सवमा धरानका २० वटै वडाका संस्थागत तथा निजी विद्यालयका विद्यार्थीका लागि बिहान १२ देखि २ बजेसम्मका लागि समय छुट्याइएको छ । त्यसैगरी कला र संस्कृतिको क्षेत्रलाई माया गर्ने, उद्योग व्यवसायी, धरानका जनप्रतिनिधिहरूको लागि साँझ ६ बजेको समय छुट्याइएको कार्यक्रम सञ्चालिका सञ्जु राईले बताइन् ।