धरान । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ मा चर्चा कमाएकी नेपालकी गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

इन्डियन आइडलबाट बाहिरिए पनि चर्चा कमाएर फर्किएकी उनलाई सोमबार झापामा भव्य स्वागत गरिएको छ । उनलाई काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र ¥यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो ।

त्यसैगरी झापाका धुलाबारी, चारआली हुँदै बिर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराइएको थियो । सो क्रममा स्थानीयले फूलमालाले स्वागत गरेका थिए । चारआलीमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मेनुकाले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिइन् । सो अवसरमा कलाकार विल्सनविक्रम राई (तक्मे बूढा)ले मेनुकालाई सम्मान प्रदान गरे ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’ बाट भारतीय फिल्ममा गाउने अवसर पाइन् । उनले अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुनेसमेत बताएकी छन् ।