दोस्रो विश्वयुद्धअन्तर्गत मलाया युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलता र संघर्षको कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ को धरानमा रेडकार्पेट शो हुने भएको छ ।
चलचित्र निर्देशक मिलन चाम्स र कार्यकारी निर्माता ज्योतीराज राईसहितको टोलीले बिहीबार पूर्वका चलचित्रकर्मीसँगको भेटमा ‘गोर्खा वारियर’ को धरानमा आगामी फागुन ५ गते ‘ग्राण्ड रेडकार्पेट शो’ हुने जानकारी दिए ।
चलचित्रकर्मीसँगको भेटमा निर्देशक चाम्सले नेपाली चलचित्र इतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको जानकारी गराए । फिल्मका कार्यकारी निर्माता ज्योतिराज राईले गोर्खाली कसरी गोर्खाली भए भन्नेबारे निकै गहिरो अध्ययन गरेर चलचित्र निर्माण गरेको बताए । चलचित्र दोस्रो विश्वयुद्धपछि मलायामा भएको घटनाको कथा भएको बताए । उनले चलचित्र विभिन्न कोणबाट आफैंमा सफल र ऐतिहासिक भइसकेको दाबी गरे ।
‘हाम्रो घर–घरको कथा भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको छ’, कार्यकारी निर्माता राईले भने, ‘फिल्मले पैसा कमाइसकेको छ, तर अब हरेक घर–घर र जन–जनलाई देखाउनका लागि सबै चलचित्रकर्मीहरु लागिपर्नुपर्छ ।’
कार्यकारी निर्माता राईले चलचित्र धरानसँगै दमक, हेटौंडा, पोखरालगायतका सहरमा प्रिमियर गरिने बताए ।
चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोटमा परेको थियो । बाफ्टा अवार्ड ओस्कारपछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ । यसअघि बेलायतमा रेडकार्पेट शो गरिएकामा आगामी फागुन ५ गते धरानस्थित ‘फ्रेण्ड्स सिनेमाज’मा ‘ग्राण्ड रेडकार्पेट शो’ गरिने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र निर्देशक चाम्सका अनुसार हलिउड चलचित्रमात्र प्रिमियर हुने ‘लण्डनको लेस्टर स्क्वाएर’मा चलचित्रको प्रिमियर गरिएको थियो । आइम्याक्स फर्म्याटमा निर्माण भएको चलचित्र बेलायतका हाइप्रोफाइलका व्यक्तित्वहरुको उपस्थितिमा बेलायती प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र बनेको छ । कोरियन कम्पनीले ७ वर्षको लागि वल्र्डवाइड सेलिङ राइट्स लिएको र अमेरिकन कम्पनीले वल्र्डवाइड वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले चलचित्र हेर्नै पर्ने बनेको निर्देशक चाम्सको भनाइ छ ।
नेपालमा फागुन ११ मा प्रदर्शन हुने
‘गोर्खा वारियर’ नेपालमा फागुन ११ मा प्रदर्शन हुने भएको छ । फिल्मको ट्रेलर भने रिलिज भइसकेको छ ।
रितेश चाम्सले चलचित्रमा डेब्यू गरेका छन् । उनीसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, विरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।
छलफलमा निर्देशक चाम्सले अबको दिनहरुमा आफूले पूर्वका चलचित्रकर्मीसँग पनि सहकार्य गरेर चलचित्र निर्माण गर्ने बताए । चलचित्र नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गरिने निर्देशक चाम्सले जानकारी दिए ।
चलचित्रकर्मीको शुभकामना
‘गोर्खा वारियर’ का निर्माण पक्षसँग भेटघाट गरेका पूर्वका सिनेकर्मीहरुले चलचित्रलाई शुभकामना दिएका छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले शुभकामना दिँदै चलचित्र आफैंमा सफल भइसकेकाले अब धरान र पूर्वका दर्शकहरुलाई हलसम्म तान्नलाई संघ दिलोज्यान दिएर लाग्ने बताए ।
ऐतिहासिक चलचित्रलाई धरान र नेपालमा पनि ऐतिहासिक बनाउन संघले भरपुर सहयोग गर्ने याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नवीन मेन्याङ्बोले प्रतिबद्धता जनाएका थिए ।
भेटघाटमा अनाम नाट्य समूह धरानका पदाधिकारी, कलाकार दिनेश कोइराला, कलाकार रितेशजङ खत्रीलगायतले सबै चलचित्रकर्मीले आफ्नो ठाउँबाट चलचित्रको सफलताका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।