चतरामा सोमबार आयोजना भएको देउराली एकता साङ्गीतिक साँझमा वराहक्षेत्र घर भई नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा कमाउन सफल कलाकारले अबेर रातसम्म स्थानीय सङ्गीत पारखीलाई मनोरञ्जन दिए ।

देउराली एकता साँझको १२औं संस्करणमा वराहक्षेत्र-१० प्रकाशपुर स्थायी घर भएका पहिलो नेपाली तारा दीपक लिम्बूले आफ्ना चर्चित १० गीत दर्शकसामु प्रस्तुत गरे ।

२०६२ सालमा पहिलो 'नेपाली तारा' घोषित दीपक २०५७ सालमा १७ वर्षको उमेरमै 'ब्राइटर तिम्रो सुर मेरो गीत' को विजेता भएका थिए । उनले 'सागर बरु सुकेर गैजाला, 'मुटु माग्यौ तिमीले, 'हराए म तिम्रो कमल झै नयनमा', 'सोल्टी आइलभ यु, 'नाइ नभन्नु ल', 'सिम्पल सिम्पल कान्छीको', 'त्यही भएर मन पराएको', 'माया गर मायालुले',  'मैले माया गर्न जानिन होला, 'यो मौसम यही भन्छ' बोलका गीत प्रस्तुत गरे ।

माघको जाडोमा रातको १ बजेसम्म आफ्ना गीत मार्फत दर्शक नचाएका लिम्बूले वराहक्षेत्र नगरभित्रै घर भए पनि चतरामा पहिलो पटक साङ्गीतिक कार्यक्रममार्फत प्रस्तुति दिएको बताए ।

दीपक लिम्बूसँगै चतरा घर भएका अहिलेका ट्रेण्डिङ गायक सुशान्त घिमिरेले समेत देउराली एकता साँझमा प्रस्तुति दिए । उनको 'जिन्दगी सररर मोटर गाडीमा' अहिलेका पुस्ताले रुचाएको गीत हो । सुशान्तको अर्को गीत 'मन चरी' युवा पुस्ताले अत्यधिक मन पराएको गीत हो ।

सुशान्तले चतरेली युवामाझ आफ्ना लोकप्रिय गीतसँगै 'तिमी त्यहाँ म छु यहाँ', 'दर्पण छाया', 'हे कान्छा', 'सुम्पे हृदय तिमीलाई', 'आकाशैको कालो बादल, पारी त्यो डाँडामा' लगायतका गीत प्रस्तुत गरे । उनले आफ्ना रिलिज नभएका नयाँ गीत, 'रङ्गीचङ्गी र 'तरि जाऊ,' समेत दर्शकसामु प्रस्तुत गरे । सुशान्तले 'जिन्दगी सररर मोटर गाडीमा' गीत प्रस्तुत गर्दा चतरेली दर्शकले 'वन्स मोर' को हुटिङ लगाएका थिए ।

देउराली एकता साँझमा दर्शकको उपस्तिथिले उत्साहित भएका आयोजक समितिका संयोजक साजन राईले युवाहरुलाई दुर्व्यसनबाट टाढा राख्ने, गीत-सङ्गीत र कला क्षेत्रमार्फत रचनात्मक बनाउने  प्रयत्न रहेको बताए ।

साङ्गीतिक साँझमा स्थानीय 'कुल डेजर्ट ब्याण्ड', 'कबिन एण्ड द फ्रेण्ड्स' लगायतले प्रस्तुति दिएका थिए । साँझमा स्थानीय कलाकार र डान्स सेन्टरको प्रस्तुतिले दर्शकलाई झुमाएको थियो । कार्यक्रमको आकर्षणका रुपमा धरानस्थित धरान बार टेण्डिङ एकेडेमीले 'फायरप्ले' प्रस्तुत गरेको थियो ।

कोशी प्रदेशकी सांसद ममता तामाङको प्रमुख आतिथ्यमा भएको साङ्गीतिक साँझमा स्थानीय सङ्गीत पारखी लब्धप्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो ।