चतरास्थित देउराली युवा क्लबको आयोजनामा बर्सेनि हुने 'देउराली एकता साँझ' साङ्गीतिक कार्यक्रमको १२औं संस्करण आगामी माघ १५ गते हुने भएको छ ।

युवा क्लबले आज शनिबार चतरामा पत्रकार सम्मेलन गर्दै साङ्गीतिक कार्यक्रमबारे जानकारी गराएको छ ।

'वराहक्षेत्र स्थायी घर भएका पहिलो नेपाली तारा दीपक लिम्बूलाई चतरामा साङ्गीतिक कार्यक्रममार्फत्  पहिलो पटक निम्त्याउँदै छौं,' कार्यक्रम संयोजक साजन राईले भने, 'युवाहरुलाई दुर्व्यसनबाट टाढा राख्ने, गीत- सङ्गीत र कला क्षेत्रमार्फत रचनात्मक बनाउने  हाम्रो प्रयत्न हो ।'

चतरेली साङ्गीतिक पारखीले प्रत्यक्ष रुपमै दीपक लिम्बूका 'मैले त्यही भएर मन पराएको', 'नाइ नभन्नु ल', 'मेरो कल्पनामा', 'म तिम्रो भैसकें', 'मागेर पाउने भए', 'मैले माया गर्न जानिन' लगायतका दर्जनौं गीत सुन्ने अवसर प्राप्त गर्ने छन् । २०६२ सालमा पहिलो 'नेपाली तारा' घोषित दीपक २०५७ सालमा १७ वर्षको उमेरमै 'ब्राइटर तिम्रो सुर मेरो गीत' को विजेता भएका थिए । उनी वराहक्षेत्र-१० प्रकाशपुरका स्थायीवासिन्दा हुन् ।

दीपक लिम्बूसँगै चतरा घर भएका अहिलेका ट्रेण्डिङ गायक सुशान्त घिमिरेले समेत देउराली एकता साँझमा प्रस्तुति दिने छन् । उनको 'जिन्दगी सररर मोटर गाडीमा' अहिलेका पुस्ताले रुचाएको गीत हो । सुशान्तको अर्को गीत 'मन चरी' युवा पुस्ताले अत्यधिक मन पराएको गीत हो ।

यस्तै हाल सङ्खुवासभा आइडलको तेस्रो संस्करणमा दर्शक स्रोता र निर्णायकको मन जितेका गायक विवेक पाण्डेले र द भोइस किड्समार्फत नेपाली दर्शक स्रोताको मन जितेका राजेश परियारले समेत प्रस्तुति दिने छन् ।

देउराली एकता साँझमा स्थानीय ब्याण्ड 'कुल डेजर्ट' ले समेत प्रस्तुति दिने छ । कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुतिसमेत रहने क्लबका सल्लाहकार चर्चिल बस्नेतले जानकारी दिए ।

देउराली एकता साँझका यसअघिका संस्करणमा शिव परियार, सुगम पोख्रेल, विल्सनविक्रम राई, धुर्मुस-सुन्तलीलगायतका चर्चित कलाकारले प्रस्तुति दिइसकेको क्लबका कोषाध्यक्ष विवश शेर्पाले जानकारी दिए ।

चतरा बस स्टेण्डमा आयोजना हुने साङ्गीतिक कार्यक्रमको दर्शक स्रोताले नि:शुल्क मनोरन्जन लिन पाउने कोषाध्यक्ष शेर्पाले बताए ।