चलचित्र निर्माता, आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष साथै नेपाल चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योतीराज राई दोस्रो पटक ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा नियुक्त्त भएका छन् ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजकमा बोर्डका अध्यक्ष भुवन केसीले राईलाई नियुक्त्त गरेका हुन् ।

नवनियुक्त्त राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरिसकेका छन् । राई पुन दोस्रो पटक  महासंघको सिफारिसमा संयोजक नियुक्त भएका हुन् ।

नेपालका सातै प्रदेशका विभिन्न १६ जातीय संस्थाबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी जनजाती महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफरिस गर्ने प्रावधान अनुसार बोर्डले संयोजक नियुक्त गरेको हो ।

राईको संयोजकत्वमा  छ सदस्यको समिति गठन भएको छ । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन र हरिसिंह रैखोला समितिको सदस्य सचिव रहेका छन् ।

समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवर्धन र बजार विस्तार गर्दै सक्षम बनाउने काम गर्छ । आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।

‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको माध्यमबाट समेट्न प्रोत्सान गर्नेछु’ राईले थपे । पुन नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका राईले यसअघि  संगम, त्रिवेणी, पापी मान्छे, वान वे, प्रोडुसरजस्ता चलचित्रहरुको निर्माण गरेका छन्। उनको पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई बेष्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन् ।