तीन दशकको चलचित्र यात्रा पार गरिसकेका धराने वरिष्ठ निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत पर्दामा नयाँ कलाकारलाई प्रवेश गराउँदै छन् ।

'मैले आफ्ना अघिल्ला चलचित्रमा पनि नयाँलाई अवसर दिएको छु ।' निर्देशक श्रेष्ठले भने, 'हामी पुराना चलचित्रकर्मीले आँट गरेनौँ भने अरुले गर्दैनन् ।'

‘पर्खि बसेँ तिमीलाई’ मार्फत दुई नवकलाकारले चलचित्र उद्योगमा अवसर प्राप्त गरेको शनिबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।  नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

'अहिलेका कलाकार सम्पूर्णरूपमा तयार भएर आउनुहुन्छ । उहाँहरू नाममात्र नयाँ हो, काममा परिपक्व हुनुहुन्छ”, निर्देशक श्रेष्ठले भने ।

यद्यपि निर्देशक श्रेष्ठले अहिले नयाँ कलाकारलाई अवसर दिँदा केही सास्ती भने खेप्नुपरेको अनुभव सुनाए । 'नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । मेरो तीन दशकको चलचित्र यात्रामा नौलो अनुभव गरिरहेको छु', निर्देशक श्रेष्ठले भने । उनले नयाँलाई काम देखाउने मौका दिन आग्रह पनि गरे ।

नवकलाकार अभिनेता श्रेष्ठले आफूलाई ठूलो पर्दामा देख्ने सपना पूरा हुनलागेको बताए । 'मैले मण्डला थिएटरमा झण्डै १३ बढी नाटक गरिसकेँ । सात वर्षपछि बल्ल चलचित्रमा अभिनयको सुरुआत गरेको छु', अभिनेता श्रेष्ठले भने, 'म कलात्मक र व्यावसायिक दुवै चलचित्र गर्न चाहन्छु । परिपक्व समूहसँग काम गर्न पाउँदा आभारी छु ।'

अभिनेत्री बुढाथोकीले पहिलो चलचित्र भएता पनि निर्देशक श्रेष्ठसहितको समूहका कारण काम गर्न सहज भएको बताइन् ।

'मैले आफूलाई नयाँजस्तो कहिले महसुस गरिनँ । सबैले मलाई सहज बनाएकै कारण आफ्नो भूमिकालाई जीवन्त बनाउन सफल भएँजस्तो लाग्छ । यसकारण पनि यस क्षेत्रमा निरन्तरता दिन उत्साहित भएकी छु', अभिनेत्री बुढाथोकीले भनिन् । चलचित्रका निर्माता राजाराम बुढाथोकीले नेपालसँगै सिक्किमको मनोरम दृश्यमा चलचित्रको छायाँकन गरिएको जानकारी दिए ।

'मैले एउटा राम्रो चलचित्र बनाउने कोसिस गरेको हुँ । निर्देशकले नयाँलाई अवसर दिनुपर्छ भनेपछि प्रेमकथानक लिएर निर्माण गरेका छौँ', निर्माता बुढाथोकीले भने ।

पत्रकार सम्मेलनमा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, अभिनेत्री सुनिता श्रेष्ठको उपस्थिति थियो । चलचित्रमा शिव श्रेष्ठ, विल्सनविक्रम राईलेसमेत अभिनय गरेका छन् । चलचित्रलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।