अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा चतरामा आयोजित सरोवर साङ्गीतिक साँझमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका छन् ।

सांस्कृतिक नृत्यसहित आयोजित साङ्गीतिक कार्यक्रममा सोमबार साँझ कलाकार डम्बर नेपाली, अशोक शिवा, राजेश परियार, विवेक पाण्डेलगायतले प्रस्तुति दिए ।

आयोजित साङ्गीतिक साँझमा गायक डम्बर नेपालीले उनका चर्चित गीतहरु प्रस्तुत गरेका थिए । छिप्पिंदै गएको जाडोमा डम्बरले आफ्नो चर्चित गीत 'जब साँझ पर्छ ...',  'बिग्रेको मान्छे…', 'तिम्रो पाउजु बजेर थाहा पाए अरुले ...', 'अन्तिम पटक भेट्न आऊ ...' र 'आज आकाशमा ...' बोलको गीत गाएर मनोरन्जन दिए । 

गायक अशोक शिवाले 'लक्ष्य', 'जोर मादल घन्किन्छ' 'मुसुमुसु' र  'ए कान्छी' लगायतका गीत प्रस्तुत गरेका थिए ।

साङ्गीतिक साँझमा भोइस अफ किडसका प्रतिस्पर्धी राजेश परियारले 'तिमीले त हैन तिम्रा भाकाहरुले', 'हजार जुनीसम्म', 'रातो र चन्द्र सूर्य' बोलका गीत प्रस्तुत गरे । स्थानीय उदयीमान गायक तथा सङ्खुवासभा आइडलका प्रतिस्पर्धी विवेक पाण्डेले' आगनै भरी', 'दिन', 'तुम ही हो', 'जाउ कि बसूँ, 'पिउँदिन भन्दा भन्दै' बोलका गीत प्रस्तुत गरे ।
स्थानीय संयुक्त आमा समूहका किशोरीले सांस्कृतिक गीतमा नृत्य प्रस्तुत गरे ।

सरोवर रेस्टोद्वारा बर्सेनि नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने गरेको सन्चालक रोशन श्रेष्ठले जानकारी दिए । स्थानीय पर्यटन प्रवर्धनका लागि साङ्गीतिक जमघटले थप टेवा पुर्याउने श्रेष्ठले बताए ।