पूर्वी नेपालको सांस्कृतिक सहर धरानको वस्तुस्थिति, परिवेश, संस्कार-संस्कृति र रहनसहनमा आधारित चलचित्र 'खजुरे ब्रो' निर्माण हुने भएको छ ।  पारिवारिक व्यङ्ग्यात्मक 'लाइट कमेडी' जनरामा आधारित व्यावसायिक चलचित्रले  धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

आठ वर्षअघि चलचित्र 'षडङ्ग' निर्देशन गरेका निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को 'लोकेशन हन्टिङ' मा यति निर्माण टोली दोस्रो धरानमा आएको छ । प्री- प्रोडक्सनका क्रममा धरानमा रहेको युनिटका अनुसार माघको पहिलो साता चलचित्र 'फ्लोर' मा जानेछ ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेतीले जानकारी दिए । शिशिर बिशङ्खेले छायाङ्कन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्। हेम चन्द्र राई र सतिश राई स्थानीय को-अर्डिनेटर रहेका छन्। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।

चलचित्रमा हर्क साम्पाङको भूमिका
चलचित्र 'खजुरे ब्रो' मा धरानका मेयर हर्क साम्पाङको समेत भूमिका रहने निर्माण पक्षले जानकारी दिएको छ ।
बुधबार चलचित्र युनिटले धरानमा चलचित्र छायाङ्कन गर्नेबारे मेयर साम्पाङलाई जानकारी गराएको छ । चलचित्र छायाङ्कनका लागि मेयर साम्पाङले सहयोग गर्ने वचन दिएको निर्माण पक्षको भनाइ छ । 'धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सास्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,' कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, 'चलचित्रमा उहाँको केही भूमिका हुनेछ ।'

चलचित्रले  स्थानीय संस्कृतिको प्रवर्धन गर्ने, यहाँको राई जातिको साकेला, लिम्बू जातिको च्याब्रुङ नाच, चिन्डो, याङ्बेनदेखि अन्य जनजातिको मौलिक रहनसहन, कला र संस्कृती झल्कने छ ।

'दोस्रो पटकको स्थानीयताको अध्य्यन गर्न क्रु धरान आएको छ,' कार्यकारी निर्मात उप्रेतीले भने, 'तेस्रो पटक भने सुटिङको लागि आउने छौं ।'

चलचित्रमा 'थियटर्स आर्टिस्ट' को बाहुल्यता रहने निर्माण पक्षको भनाइ छ ।  चलचित्रमा महेश त्रिपाठी, नवीन मानन्धरलगायत अधिकांश पूर्वकै आर्टिस्टहरु रहने छन् । धरानमा ९० प्रतिशत, काठमाडौ र केही 'सिन' दार्जीलिङमा खिचिने बताइएको छ ।

स्टारकास्ट रिभिल भने 'धरान रन' इभेन्ट्सको समयमा गरिने छ । माघ ५ गतेदेखि धरान, इटहरी, भेडेटारलगायतका क्षेत्रमा चलचित्रको छायाङ्कन हुनेछ ।
चलचित्र 'खजुरे ब्रो'को माध्यमद्वारा बहुप्रतिभाशाली कास्ट एन्ड क्रु इण्डस्ट्रीमा आउने निर्माण पक्षको भनाइ छ । 'केही प्रोफेस्नलहरुले 'खजुरे ब्रो' मार्फत मेनस्ट्रिममा डेब्यु गर्दै छन्,' कार्यकारी निर्माता उप्रेतीले भने, 'आगामी वैशाखसम्ममा फिल्म रिलिज गर्ने योजना छ ।'

हर्क साम्पाङको सिनका लागि फिल्म युनिटले  'एप्रोज' गरिसकेको छ, 'अलअफ धरान आइसकेपछि उहाँ पनि आउनुपर्छ भन्ने हो ।' उप्रेतीले भने ।
 
चलचित्रको कथानक
धरानमा आधारित चलचित्र एउटा व्यङ्ग्यात्मक र पारिवारिक हास्य प्रधान चलचित्र हो । पैसाको थैलीको लोभमा प्रेरित पात्रहरुको मनोदशामा चलचित्र आधारित छ ।

सबै पात्र पैसाले भरिएको थैलीको पछि लाग्छन्, जबसम्म यो थैली यसका वास्तविक हकदार अर्थात् जनतासमक्ष पुग्दैन ।

चलचित्रमा उमेरले २० वर्ष वरिपरिकि पात्र पारु, एक सिधा-सोझी युवती जसलाई एक पूर्व गोर्खा एकल पिताले पालनपोषण गरेका हुन्छन् । उनी एक गलत युवाको प्रेममा पर्छिन् । र, उनलाई आत्मनिर्भरताको महसुस हुन्छ । पारुकी सबैभन्दा मिल्ने साथी पिचु, एक गलत युवती हुन्छिन् । उनी लोभी र पैसाको लागि जुनसुकै कदम उठाउन सक्ने हुन्छिन् । तर उनलाई घटनाक्रमले प्रेमले लोभ लालचलाई समेत परास्त गर्छ भन्ने महसुस गराउँदछ ।