मगर जातिको सांस्कृतिक नृत्य हुर्रामा इलाम चुलाचुली गाउँपालिका–२ का ५९ वर्षीय पदम श्रेष्ठको खुट्टा लाग्न थालेको पनि झण्डै त्यति नै वर्ष पुग्यो । सानैदेखि हुर्रा नाचे । त्यही कारण उनी हुर्रामा तालमा ताल मात्रै मिलाउँदैनन्, भाका पनि हाल्छन् ।

गोठालाले घाँसै काट्यो, टुप्पैदेखि छास्यो,
मेरो स्वर त यस्तो थिएन, कुन पापीले नास्यो, देशै रमाइलो..

बच्चादेखि बूढापाकाले भाका हालेको सुनेर उनी पनि अभ्यस्त भए । ‘सानै हुँदादेखि हुर्रा खेल्न थालेको । तिहारमा मात्रै खेलिन्थ्यो । बूढाहरूसँग खेल्दा भागीमा आठाना पैसा दिन्थे’ उनले भने, ‘त्यसपछि एक रुपैयाँ, पाँच रुपैयाँ दिन थाले । २०७३ सालदेखि सिस्टम बदलेर संस्थाको लागि खेलिन्छ ।’ हरेक तिहारमा चुलाचुली गाउँ हुर्रामय हुन्छ । त्यहाँका हरेकजसो घरबाट महिला, केटाकेटी, पुरुष, बूढापाका सबैजसो हुर्रा नाच्छन् । भाका हाल्छन् । मादल बजाउँछन् । ‘पहिले पहिले गीत गाएजस्तो अहिलेको युवाहरूले गाउन जान्दैनन्’ उनी थप्छन्, ‘तर, मादल चाहिँ उही पारामा घन्काउँछन् ।’

चुलाचुली–२ मा अधिकांश नेवारको बस्ती छ । त्यसबाहेक अन्य जातजाति पनि छन् । मगरको सङ्ख्या एकदमै न्यून छ । चुलाचुली–२ की वडा सचिव निर्मला घिमिरेका अनुसार करिब ५०–५५ घरधुरी रहेका छन् । त्यसो त मगरहरूले पनि हुर्रा खेल्छन् तर, नेवार समुदायले निकाल्ने हुर्रामा छुट्टै रौनक हुने २०६० सालदेखि हुर्रा खेल्दै आएका जगतबहादुर श्रेष्ठ बताउँछन् । नेवारमा हुर्रा खेल्ने चलन कसरी बस्यो त भन्ने सवालमा भन्छन्, ‘यहाँ सबै ६ नम्बर बुधबारे (धनकुटा)बाट आउने नेवारहरू छन् । त्यहाँ मुक्ताराका मगरहरू हुर्रा खेल्न आउँदा रहेछन् । उनीहरूबाटै सिकेर त्यहीँको सिकोले गर्दा यहाँ पनि खेल्न थालियो ।’

धनकुटाको ६ नम्बर बुधबारेका मगरहरूसँगै हुर्रा खेलेका कारण पनि बूढापुस्ताले चुलाचुली आएपछि हुर्रालाई तिहारमा देउँसी खेल्ने मेलो बनाए । त्यही कारण तिहारमा चुलाचुली गाउँ हुर्रामय हुने गरेको छ । ‘पहिलो पिँढीहरू मोरङको सुकुनासम्मबाट आउँथे हुर्रा खेल्न । अहिले पहिलो पिँढीका एक–दुई जना मात्रै हुनुहुन्छ । धेरै जना बितिसके । मैले थाहा पाएको चाहिँ २०६० सालबाट हो’ जगत भन्छन्, ‘हुर्रा नेवारको हैन भनेर पनि थाहा छ तर, यहाँ रमाइलोको लागि खेल्ने गरिएको छ ।’

तिहारमा यहाँको हुर्रा टोली झापाको दमक, पाडाजुँगी, केर्खासम्म निम्ता मान्न पुग्ने गरेका छन् । चुलाचुलीको हात्तीलेदा, पेल्टीमारी र गाउँमा घरप्रत्येकजसो नै हुर्रा खेल्ने गरेका छन् । तिहारको समयमा पाँच दिनसम्म चुलाचुली हुर्रामय हुन्छ । अन्य बेला भने हुर्रा नखेलिने पदम श्रेष्ठ बताउँछन् । कुनै समय रमाइलोका लागि खेलिने हुर्रा अहिले क्लब गठन गरी सङ्कलित रकमलाई सामाजिक काममा खर्च गर्ने गरेका छन् । गाउँमा मरिमराउ हुँदा, बिहे कार्जेका लागि चाहिने अतिआवश्यकीय सामग्री खरिद गरेका छन् । गाउँभरि सदस्य बनाएका छन् । वार्षिक दुई सय रुपैयाँ सदस्य शुल्क उठाइने पदम श्रेष्ठ बताउँछन् । सदस्य बनेकाहरूलाई सामान प्रयोग गरेबापत शुल्क पनि केही कम लिने र सदस्य नबनेकालाई चलनचल्तीको मूल्यमा दिने गरेका छन् ।

उनीहरूका अनुसार अहिले करिब ३२ लाख रुपैयाँ बराबरको सामान जोडिसकेका छन् । प्रत्येक वर्ष हुर्रा खेलेर करिब डेढदेखि दुई लाख रुपैयाँ सङ्कलन गर्ने गरेको उनीहरू सुनाउँछन् । ती सबै रकम खर्च कटाएर सामाजिक कार्यमा खर्च गर्छन् । यहाँ नेवारहरू मात्रै हैन, बाहुन, क्षेत्री, लिम्बू, राई सबैजसोले हुर्रा खेल्ने गरेका छन् । ‘यहाँ चाहिँ सबै जातजातिले खेल्छन्, केटाकेटी, महिला सबै सरोबरी खेल्छन् । एउटा रिङ हुँदा डेढ–दुई सयभन्दा बढी हुन्छ । कहिलेकाहीँ दुई रिङ बन्छ’ पदम श्रेष्ठ भन्छन्, ‘कोही लेटाङबाट आउँछन्, कोही पेल्टीमारीबाट आउँछन् ।’ बर्सेनि नेवारको हुर्रा टोलीलाई विभिन्न ठाउँबाट हुर्रा खेलिदिन भन्दै निम्तो आउने गरेको छ । निम्तो आएसम्म सबैतिर भ्याउने गरेका छन् ।

तिहारबाहेक अन्य बेलामा भने यहाँका नेवारहरूले हुर्रा नाच्ने गरेका छैनन् । हुर्रा मगर जातिको पहिचान भए पनि चुलाचुली–२ का नेवार बस्तीमा पनि हुर्रा एक प्रकारले पहिचान बनिसकेको छ । त्यही कारण धेरैतिरबाट हुर्रा नाचिदिन भन्दै आग्रह गर्ने गरेका छन् । एक पिँढीबाट अर्को पिँढीमा सर्दै गएकोले हुर्रा चुलाचुलीका नेवारको जस्तै हुन थालिसकेको वडाध्यक्ष लक्ष्मण श्रेष्ठ बताउँछन् । ‘बाउबाजेको पालादेखि नै खेल्दै आए । अहिले हाम्रो पुस्ताबाट भाइ पुस्तामा सरिसक्यो’–उनले सुनाए ।