धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले धरानको खानेपानी आयोजनाका विषयमा क्षेत्राधिकार नाघेर सोधिएको विषयमा उत्तर दिनैपर्ने बाध्यता नरहेको निवर्तमान प्रमुख/ उपप्रमुखले बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीले आफूहरू जनताप्रति जवाफदेही रहेकाले आयोजनाको सम्पूर्ण कागजपत्र खानेपानी व्यवस्थापन बोर्डमै रहेको बताएका छन् । उनीहरूले नगरप्रमुख राईको पत्रको औचित्य नभएको बताए । निवर्तमान प्रमुख राईले भने, ‘विधि प्रक्रियाविना सार्वजनिक खपतका लागि पत्र पठाइएको हो ।’ उनले पत्रको जवाफ दिन आवश्यक नभएको बताउँदै भने, ‘जनता, नागरिक समाज, मतदाता, खानेपानी उपभोक्ता र सरोकारवाला निकायलाई चाहिँ दिन जरुरी भयो ।’ 

यस्तै उपप्रमुख सुवेदीले जिम्मेवार व्यक्ति भएकाले आम नागरिकलाई स्पष्ट पार्नु आफ्नो दायित्व भएको बताइन् । निवर्तमान प्रमुख राईले संस्थाको कागजात खानेपानी बोर्डमै हुने बताए । उनले भने, ‘हामी नेतृत्वमा हुँदा सम्पूर्ण कागजात हामीसँग थियो । हामी अहिले पदमा छैनौँ ।

जसले पद सम्हालिरहनुभएको छ, उहाँसँगै छ कागजात । हामीले दिइरहनु पर्ने आवश्यकता छैन ।’ केही दिनअघि उनीसहित धरानका पूर्वजनप्रतिनिधिहरूले नगर प्रमुख राईलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । बुझाउने क्रममा निवर्तमान प्रमुख राईले वर्तमान नगर प्रमुख राईलाई विगतका गतिविधि पुनर्मूल्याङ्कन गर्नुपर्ने बताएका थिए । त्यसको प्रतिशोधस्वरूप नगर प्रमुख राईले स्पष्टीकरण पत्र पठाएका थिए । 

निवर्तमान नगर प्रमुख राईले भने, ‘अहिले पनि भ्रष्टाचार कति हो र कहिले सार्वजनिक गर्ने भन्ने प्रश्न हालका नगर प्रमुखलाई हो ।’ उनले अहिले सम्पूर्ण अधिकार नगर प्रमुख राईमा भएकाले भ्रष्टाचार भएको हो–होइन भन्ने विषयको तथ्यगत कुरा सार्वजनिक गर्नु पर्ने बताए । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित खानेपानी परियोजनाको खर्च विवरण पनि दिएका छन् ।

सामुदायिक विकासमा २ करोड ९९ लाख ८ हजार ८ सय ५ रुपैयाँ खर्च भएको छ । आदिवासी विकास योजना १ करोड ९६ लाख ९६ हजार ९ सय ६९ रुपैयाँ खर्च भएको छ । सवारी साधन खरिदमा ६५ लाख ५६ हजार ३ सय ३७ रुपैयाँ खर्च भएको छ । परामर्शदातामा १३ करोड १० लाख ६ हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । 

गैरसरकारी संस्था शीर्षकमा १ करोड ९९ लाख ७० हजा ५ सय ७५ रुपैयाँ खर्च भएको छ । जग्गा खरिदमा ५१ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालन खर्च १० करोड १८ लाख ८६ हजार ६ सय ७७ रुपैयाँ खर्च भएको छ । खानेपानी परियोजनाको निर्माणमा १ अर्ब ७४ करोड ७९ लाख ९२ हजार २ सय ४२ रुपैयाँ खर्च भएको छ । मूल्य समायोजनमा १० करोड ६ लाख ६ हजार १ सय ४५ रुपैयाँ खर्च भएको छ ।