नीतिविपरीतका काम गर्न नमानेपश्चात् धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले निमित्त प्रशासकीय प्रमुख प्रज्ञादेवी निरौलालाई जबर्जस्ती बिदामा बस्न निर्देशन दिएका छन् ।

सङ्घीय कानूनसँग बाझिने तथा स्थानीय सरकारले गर्न नमिल्ने काम गराउन दबाव दिएपश्चात् काम नगरेपछि कार्य क्षमतामाथि प्रश्न उठाउँदै नीतिविपरीत बिदामा बस्न निर्देशन दिएका हुन् । यसैबीच नगरप्रमुख राईले मन्त्रालयलाई प्रमुख प्रशासकीय प्रमुख पठाइदिन भन्दै मागसमेत गरेका छन् । निरौलालाई शुक्रबारदेखि बिदामा बस्न निर्देशन दिएको स्रोत बताउँछ । स्रोतका अनुसार निरौला बिहीबार नै काठमाडौँ प्रस्थान गरिसकेकी छन् । उनी शुक्रबार नगरमा हाजिर नभएको कर्मचारी स्रोत बताउँछ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलालाई नगर प्रमुख राईले सङ्घीय कानूनसँग बाझिने र स्थानीय तहले गर्न नमिल्ने काम गर्न लगाएपछि नमानेको स्रोत बताउँछ । ‘नीति विपरीतको काम गर्न नमानेपश्चात् बिदामा बस्न निर्देशन दिएको बुझिएको छ’–उपमहानगर स्रोतले भन्यो ।

उनलाई बिदा दुई कारणले दिएको बुझिएको छ । एउटा जोगबनी–किमाथाङ्का जोड्ने कोशी राजमार्गको निर्णय प्रमाणीकरण गर्ने । अर्को कर्मचारी नियुक्ति रहेको छ । २०८० असार २० गते गरिएको कार्यपालिका बैठकले कोशी राजमार्गअन्तर्गत धरानमा मुख्य बजार क्षेत्रमा ७२ फिट कायम गर्र्ने निर्णय गरेको थियो । उक्त, निर्णय स्थानीय सरकारले गर्न मिल्दैन । धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले भने, ‘सिफारिस मात्र गर्ने निर्णय गरेको थियो । ७२ फिट बनाउने भन्ने निर्णय लेखिएछ ।’ उनले कार्यपालिका बैठकमा कोरम पु¥याउन बैठकको सुरुवातमा नै हस्ताक्षर गर्ने भएकाले यस्ता निर्णय हुँदा त्यसले समस्या उत्पन्न भइरहेको बताए ।

असार ३ को कार्यपालिकामा बुँदा नं. ३ मा ‘नेपाल सरकार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरो पोइन्टसम्म ५ किलोमिटर सडक विस्तार नहुँदा घर नक्सा पास रोक्का, नयाँ संरचनालगायतका काममा बाधा अड्चन आएकाले नेपाल सरकारबाट तोकिएको २ सय ५ फिटको मापदण्ड कायम गरी बाटो विस्तार गर्दा बजार क्षेत्रमा रहेका भौतिक संरचना क्षति हुने भएकोले राजमार्गको मापदण्ड ७२ फिट कायम गर्ने सर्वसम्मत निर्णय गरियो’ भनी उल्लेख छ ।

उक्त निर्णयको प्रमाणीकरण तत्कालीन प्रशासकीय अधिकृत मातृका भट्टराईले गरेका थिए । उपमहानगरपालिका स्रोतका अनुसार कार्यपालिकाको निर्णय अनुसार अहिले निजी क्षेत्रले नक्सा बनाउने कार्य गरिरहेको छ । उक्त नक्साको प्रमाणीकरण र इजाजत प्रमुख प्रशासकीय अधिकृत निरौलालाई दिन दबाव दिइरहेका थिए । निरौलाले उक्त मापदण्ड घटाउन सङ्घीय कानूनअनुसार नमिल्ने बताएकी थिइन् । त्यसका आधार नगर प्रमुख राईले प्रशासकीय अधिकृत निरौलालाई प्रमाणीकरण र इजाजतमा हस्ताक्षर गर्न नमानेपश्चात् कारबाहीस्वरूप बिदामा बस्न निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रशासकीय प्रमुख निरौलालाई फोन सम्पर्क गर्दा उनले सरुवाका लागि सहमति लिएको बताए पनि अन्य विषयमा प्रतिक्रिया दिन मानिनन् । निरौला सरुवाका लागि सहमति लिन बिहीबार नगर कार्यालय गएकी थिइन् । सोही बेला उनलाई सरुवा सहमति नदिई काममा सहयोग नगरेको भन्दै नगर प्रमुख राईले बिदामा बस्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

अर्को कर्मचारी नियुक्त गर्न पनि दबाव दिइरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उपमहानगरपालिकाका बारुण यन्त्र शाखाका कर्मचारी सूर्यबहादुर अधिकारी, प्रशासनमा कार्यरत कर्मचारी राजन कार्की (पाँचौं तह) र चालक सुत्र तामाङ सेवानिवृत्त भएका कारण उनीहरूको स्थानमा नगर प्रमुखका आफन्त नियुक्त गर्न दबाव दिइरहेका थिए । सोही कुरालाई प्रमुख प्रशासकीय अधिकृत निरौलाले मानिरहेकी थिइनन् । यस्ता कुरामा विमति राखेका कारण नगर प्रमुख राईले कारबाहीस्वरूप बिदामा बस्न भनेका थिए । यता नगरप्रमुखले सरुवा सहमति दिएका छन् । यसअघि पनि नगर प्रमुखले विभिन्न बहानामा कर्मचारीहरूलाई सरुवा गर्दै आएका थिए । 

उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङका स्वकीय सचिवको निर्देशनात्मक पत्राचारको विषयमा तत्कालीन वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई पनि कारबाहीस्वरूप शिक्षा महाशाखामा सरुवा गरेका थिए । २०७९ चैत २९ गते स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरूलाई पत्र पठाएका थिए । शिक्षा महाशाखाका प्रमुख शम्भु पाण्डेलाई वरिष्ठ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका थिए । उनी शिक्षा अधिकृत थिए । शिक्षा महाशाखामा शिक्षा अधिकृत प्रमुख नहुँदा हाल धरानका सयौं शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा प्रभाव परेको छ ।

गतवर्ष सर्दू जलाधार क्षेत्रमा पर्ने रोशन अधिकारीको भौतिक संरचना भत्काउने पत्रमा हस्ताक्षर नहुँदा अधिकृत पाण्डेलाई पनि कारबाही गरी बिदा दिएका थिए । सर्दू जलाधारको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले पाण्डेले हस्ताक्षर गर्न मानेका थिएनन् । नमाने पछि नगर प्रमुख राईले कारबाहीस्वरूप बिदा बस्न बाध्य पारिएका अधिकृत पाण्डे शिक्षा समन्वय एकाइमा गएका थिए । उनलाई बिदा दिएपश्चात् तत्कालीन सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलालाई निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी दिइएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत माग

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले प्रमुख प्रशासकीय प्रमुख पठाउन मन्त्रालयमा माग गरेका छन् ।

बिहीबार नगर प्रमुख राईले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका हुन् । पत्रमा मन्त्रालयको २०८० मङ्सिर ७ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रमुख अधिकृत मातृका भट्टराईलाई पठाएको उल्लेख गरिएको छ । भट्टराई वीरगञ्ज महानगरपालिकामा सरूवा भई गएपश्चात् प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा उपमहानगरको सामाजिक विकास महाशाखामा कार्यरत विविध सेवा, अधिकृत दशौं तहका कर्मचारी प्रज्ञादेवी निरौलालाई निमित्त अधिकृतको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । तर, कार्यालयमा कामकाज गर्दा जिम्मेवारी इमान्दारीपूर्वक गर्न नसकेका कारण काम कारबाही प्रभावित भइरहेकोले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरिएको पत्रमा भनिएको छ ।