लामो समयको अन्तरालपछि धरानमा आगामी मङ्सिर १५ गते शुक्रबार र १६ गते शनिबार गरी दुई दिन धरानको पब्लिक हाइस्कुलको मैदानमा म्युजिकल कन्सर्ट ‘धरान म्युजिक फेस्ट २०८०’ आयोजना हुने भएको छ ।  

स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत विशेष स्थान दिइने अभिप्रायका साथ पहिलोपटक उत्सवको रुपमा आयोजना हुन लागेको विशुद्ध साङ्गीतिक कार्यक्रम ‘धरान म्युजिक फेस्ट २०८०’ को पहिलो दिन मङ्सि १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड ‘पहेंलो बत्ति मुनि’ सँगै ‘धोकेबाज हौ तिमी’ गीतबाट चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको विशेष प्रस्तुति रहनेछ ।   

‘पहेंलो बत्ति मुनि’ को गौंथली, लोरी, बरी लै, म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ चर्चित छन् । त्यस्तै अहिलेकी व्यस्त गायिका एलिना चौहानको ‘धोकेबाज’ सँगै ‘भाग्यमा खोट छ’, ‘तिम्रो मायाले बाँधेर राख’, ‘के माया लाग्छ र’ लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् । उनी पहिलो पटक धरानमा आफ्नो प्रस्तुति दिन आउँदैछिन् । सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछ ।  

‘धरान म्युजिक फेस्ट २०८०’ को दोस्रो तथा अन्तिम दिन मङ्सिर १६ गते शनिबार चर्चित गायिका तथा भ्वाइस अफ नेपालकी कोच मिलन नेवारले प्रस्तुति दिनेछिन् । उनको ‘जहिले सम्म संसारमा’, ‘गाला रातै’, ‘स्लोली’, फूलबुट्टे सारी’ जस्ता थुप्रै चर्चित गीत चर्चामा छन् । गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो । 

dharan music fest poster

कन्सर्टमा हाल चर्चामा रहेका धरानका प्रतिभावान गायक पूर्ण राईको विशेष प्रस्तुति रहनेछ । धरानको साङ्गीतिक प्रतिभा पूर्ण राईको गीत ‘तिमी सेतो चिल्लो गाडी’ करिब एक महिनादेखि युट्युबको सङ्गीत विधातर्फ नेपाल ट्रेण्डिङमा पहिलो स्थानमा रहिरहेको छ । त्यस्तै उनको ‘मनका कुरा’ ले युट्युबमा १७ मिलियन बढी भ्युज पाइसकेको छ भने उनको ‘ध्रुवतारा’, ‘स्पर्शसंगीत’, ‘विराम’ लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निक्कै नै रुचाइएका छन् ।  

हाल काठमाडौंलगायत विभिन्न शहरमा उनको माग बढिरहेको छ ।  धरानमा उनी आफ्नो पहिलो ठूलो कन्सर्टमा आफ्नो ब्याण्ड दाजुभाइहरु सँगै   प्रस्तुति दिन आतुर छन् ।   

उक्त दिन धरानकै लासोज ब्याण्ड र दिव्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ  । त्यस्तै धरानमा रहेर नेपाली सङ्गीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीलाई ‘धरान म्युजिक फेस्ट २०८०’ को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ ।  

साउण्ड र लाइट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडि बढाइसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टमा प्रवेशको लागि  टिकट दर २ सय रुपैयाँ र ३ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।