तिहारै आयो लौ झिलिमिलि

ए सुन हजुर भैलेनी आए मागन

मनको आँखा उघारी हेर

ए सुन हजुर लक्ष्मी आइन् आँगन

हरेक वर्ष तिहार आएसँगै यो गीत घरघरमा गुञ्जिन थाल्छ । पुरानो चलचित्र ‘स्वर्ग’का लागि यादव खरेलको शब्द, संगीतमा लोचन भट्राई र नूतन प्रधानले गाएको यो गीत देउसी भैलोमा प्रायः छुट्दैन ।


यो गीतको धुन बज्न थालेसंगै तिहारको रमझम बेग्लै हुन्छ । यो गीतको धुनसंगै ‘हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको’ भन्ने शब्दले साँच्चीकै तिहार आएको हरेक नेपालीले अनुभूति गर्छन् । विशेषगरी यो गीत भैलो बिशेष गीत रहेकाले यस गीतमा चेलीहरुको भैली गीतको सुगन्ध पाइन्छ । चाडबाडमा समेटिएका गीतहरु मध्ये यो गीतलाई उत्कृष्ट गीतमा लिन सकिन्छ ।

दशैं पछि नेपालीहरुको दोस्रो ठुलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रुपमा लिन सकिन्छ । किनभने, गीत सङ्गीति विना देउसी भैलो अधुरो हुन्छ ।

देउसी भैलोमा गुञ्जिने गीतहरु दर्जनौं छन् । ति मध्येपनि अरुण उपत्याका समूहका नवीनकुमार खड्का , पुस्तका खड्का, बलराम समाल लगायतको स्वरमा सजिएको ‘सिमल बारुलै..’ गीतले धेरै दर्शक स्रोताहरुको मन जितेको छ । करिब एक दशकअगाडी सार्वजनिक यो गीत अहिले पनि उत्तिकै दर्शक स्रोताले रुचाउने गरेका छन् । 


गीतमा सयपत्रीको माला उने जस्तै उनिएका शब्दहरु उति नै सुमधुर र कर्णप्रिय छन् । बुढाबुढीको संवाद अझ उत्तिकै रोचक छ । भट्याउने देखि लिएर बिचबिचमा गाइएको पूर्वेली भाकाले मन छुन्छ । धेरै देउसी समुहले यहि गीत बजाएर देउसी खेल्छन् । झन्डै २० मिनेटको यो गीतमा देउसी खेल्नेहरुको प्रवेश संगै अन्तिममा दिइएको आशिषमा सबै विषयलाई लय मिलाएर बनाईएको छ ।

त्यसो त ‘राँको’ फिल्मको गीत ‘दियो बाली साँझको’ लक्ष्मी पूजाका दिन बढी गुञ्जिने गर्छ । त्यसबाहेक पनि तिहारैभरि बज्ने यो गीत आशा भोस्लेले गाएकी थिइन् । ३ दशक अगाडी गाईएको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

‘अन्याय’ फिल्मको गीत ‘अधरमा आज उनकै छ गीत’ पनि धेरै वर्षदेखि अहिलेसम्म उत्तिकै मान्छेको मनमा बस्न सफल छ । सिन्धु मल्लले गाएको गीत ‘झिली र मिली’ पनि तिहारमा गुञ्जिने गीतमा पर्छ । राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला’ गीत धेरै बज्ने गीतमा पर्छ । यो गीतले विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा छ । 


चलचित्र कोहिनूरमा समावेश गरीएको ‘यसपालिको तिहारै रमाईलो’ गीत पनि तिहारमा उत्तिकै गुञ्जिने गर्छ । प्रमोद खरेल र अञ्जु पन्तले गाएको यो गीत तिहारको समयमा धेरै बजाइने गीत हो । लक्ष्मी पूजा देखी देउसी भैलो सबैलाई समेटिएको यो गीत उत्तिकै लोकप्रिय छ ।

यी बाहेक पनि नयाँ–पुराना दर्जनौं गीतहरु तिहारमा गुञ्जिन्छन् । तिहार सम्बन्धि वर्षेनी नयाँ नयाँ गीत थपिएपनि पुराना गीतहरु नै बढि गुञ्जिने गरेका छन् ।

कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्र्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाईटीकासम्म पाँच दिन मनाइने तिहारको सांस्कृति र सामाजिक महत्व बेग्लै छ । तिहार भन्ने वित्तिकै देउसी भैलोलाई सम्झिन सकिन्छ, त्यसमा पनि गीत संगीतले तिहारलाई हर्ष र उल्लासमय बनाउँछ ।

प्रविधिको विकाससँगै पछिल्लो समय तिहारमा गीत घन्काउँदै देउसी भैलो खेल्न चलन बढेको छ । देउसी भैलोसँगै गुञ्जिने गीतहरुले तिहारमा बेग्लै रौनक थप्ने गर्दछ । तिहार आउन केही समय बाँकी रहँदै तिहारका गीतहरु बजारमा गुन्जिन थालेसँगै बेग्लै खालको रौनक छाउन थाल्छ । यतिबेला गाउँदेखि सहरसम्म तिहारको साङ्गीतिक माहोल बनिसकेको छ । गीत सङ्गीतसँगै गुञ्जिरहेको छ ।