मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको सेनाले बताएको छ। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ । 

सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजराइली सेना युद्धमा होमिएको छ । 

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजराइली हमलामा मङ्गलबार कम्तीमा ४७ मानिस मारिएका छन्। इजराइलले मारिनेमा अक्टोबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ । 

राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएको थियो भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो । सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ । 

स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए ।आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजराइलले बताएको छ । इजराइली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए। 

सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीलाई गत महिना इजराइलमा हमासको हमलाको ‘योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताएका छन् । हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित १ हजार४ सयको ज्यान गएको थियो । इजराइलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई निमिट्यान्नपार्ने वाचा गरेका छन् ।