विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी हस्पिटल कोशीको सर्जरीको ओटीमा फाइबर अप्टिक केबल बिग्रिदा ल्याप्रोस्कोपिक विधिबाट गरिने शल्यक्रिया ठप्प भएको छ ।
अस्पताल प्रशासनले अप्टिकल केबल बेलैमा ल्याएर जडान नगर्दा झण्डै एक महिनादेखि अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट गरिने शल्यक्रिया सेवा ठप्प भएको हो । ल्यप्रोस्कोपिक विधिबाट शल्यक्रिया नहुने भएपछि बिरामीले चर्को शुल्क तिरेर निजी हस्पिटलमा उपचार गर्न बाध्य भएका छन् । केही दशकयता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेटको तथा पाठेघरको शल्यक्रिया गरिँदै आएको छ ।
परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा पारेर गरिने शल्यक्रियाको सट्टा पेटमा ससाना घाउ बनाई पेटको भित्री अङ्गमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो । यो सर्जरी गर्दा पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामेरा पठाएर उच्च प्रकाश र क्यामेराको सहायताले पेटको शल्यक्रिया गरिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पेटको कुन भागको शल्यक्रिया गर्ने हो, त्यसअनुसार पेटमा अन्य दुई वा तीन ०.५ सेन्टिमिटरसम्मको वटा प्वाल पारेर औजारको माध्यमले जुन अङ्गमा रोग छ, त्यस अङ्गको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ ।
कोशीमा यो सेवा सुरु भएको वर्षौ भएको थियो । दशैंअगाडि अप्टिक केबल बिग्रिएर ल्याप्रोस्कोपिक सर्जरी सेवा बन्द भएको थियो । कोशीमा दैनिक २ देखि तीन वटासम्म ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया हुने गरेको थियो । यसअघि समय दिएको बिरामीले पनि शल्यक्रिया नभएपछि निजीमा गएर उपचार गर्नुपरेको छ । कोशीमा शल्यक्रिया गर्न आउने आर्थिक अवस्था नाजुक भएका बिरामीहरू आउने गर्दछन् ।
कोशीमा ल्याप्रोस्कोपिक प्रविधिबाट आठदेखि १२ हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा २५ देखि ४० हजार रुपैयाँसम्म तिनुपर्छ । कोशीमा बुधबार र बिहीबार युरोलोजीको सेवाहरू सञ्चालन रहेको छ भने चिरेर गरिने शल्यक्रियाहरू भने भइरहेको अस्पतालले जनाएको छ । महिला रोगबाहेक ल्याप्रोस्कोपिक प्रविधिबाट पित्त थैली, एपेन्डिक्स, मुत्रनली, आन्द्रा आदि अङ्गको पनि शल्यक्रिया गरिन्छ । ल्याप्रोस्कोपीको मद्दतबाट कुनै पनि प्रकारको अण्डासयको सिस्ट, ट्युमर, सङ्क्रमण वा फिब्रोइद्सको बारेमा पत्ता लगाउन सकिने सर्जन चिकित्सक बताउँछन् ।
 सर्जरी ओटीमा स्ट्राइकर कम्पनीको फाइबर अप्टिकल केबल मगाएकोले एक हप्ता भित्रमा आउने कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले बताए । ‘भारतबाट मगाएकोले केही समय लागेको हो । फाइबर अप्टिकल केबल फिट नभएपछि अर्को स्ट्राइकर कम्पनीको मगाएको हो’ उनले भने, ‘आएपछि ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया सुचारु हुनेछ ।’ अस्पतालले कात्तिक १७ गते स्ट्राइकर कम्पनीको फाइबर अप्टिकल केबल मगाएको जनाएको छ । तर, अहिलेसम्म आएको भने छैन । 
 
                     
         
                                        
                                                                                                 
        































