धरान । वृत्तिविकासको माग राखी गत असोज २६ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर चिकित्सकको आन्दोलनलाई तुहाउनका लागि पदाधिकारीले ‘डिभाइड एन्ड रुल’ अस्त्रको प्रयोग गरेको छ ।

२०७९ पुस २० गते र माघ २५ गतेको मितिमा शिक्षकहरूको आन्तरिक बढुवा गर्ने भनी गरिएको विज्ञापनअनुसार हाललाई करारमा रहेका शिक्षकहरूको मात्रै बढुवाका लागि सूचना जारी गरेको छ । यो सूचनाले स्थायी शिक्षकहरू थप चिढिएका छन् । प्रोफेसर भइसकेका सिनियर चिकित्सकहरू बस्दै आएको ओपिडीमा पनि नबसिदिनका लागि शिक्षक कल्याण समाजले आग्रह गरेको छ । यस कुरालाई शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले पुष्टि गरे । उनले भने, ‘हामीले प्रोफेसर डाक्टरहरूलाई ओपिडीमा पनि नबसिदिनका लागि आग्रहसम्म गरेका छौँ । तर, मान्ने नमान्ने उहाँहरूको कुरा हो । आन्दोलनरत एक चिकित्सकले भने, ‘यो डिभाइड एन्ड रुल’ को नीतिअनुसार आएको छ । एकै समयमा खोलेको स्थायी शिक्षकहरूको बढुवाको सूचना ननिस्किने अनि करारको मात्रै निस्किने ?’ प्रतिष्ठानमा रहेका सिनियर शिक्षकहरूमाथि प्रतिष्ठानका पदाधिकारीले अन्तरघात गरेको उनीहरूको बुझाइ छ । बीपी प्रतिष्ठानका रजिष्ट्रार एवम् छनौट समितिका सदस्य सचिव प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाले आइतबार ‘अन्तर्वार्तासम्बन्धी सूचना’ जारी गरेका छन् । सूचनामा लेखिएको छ, ‘यस प्रतिष्ठानको मेडिकल, डेन्टल तथा नर्सिङतर्फको विभिन्न शिक्षक विभागहरूको लागि आवश्यक शिक्षक पदहरू स्थायी तथा करार सेवामा पदपूर्ति गर्न क्रमशः मिति २०७९÷०९÷२० गते र २०७९÷१०÷२५ गते प्रकाशित आवश्यकतासम्बन्धी सूचना बमोजिम केही विभागहरूको अन्तर्वार्ता बाँकी रहेकोमा हाल करार सेवा अन्तर्गतका पदहरूको अन्तर्वार्ता मिति २०८०/०८/०१ गतेदेखि सुचारु गरिने व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

बीपी प्रतिष्ठानका एक सिनियर चिसित्सकले ब्लाष्टकर्मीसँगको अनौपचारिक भेटमा भनेका थिए, ‘हामीले करारको मात्रै अन्तर्वार्ता गर्ने काम गर्दै नर्गनूस् है भनेर भनेका थियौँ । तर, एक्कासि सूचना पो देखिन्छ । यसले झन् आन्दोलनरत पक्षलाई नैराश्यता ल्याएको छ ।’ शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले करारहरूलाई अलग्याउने र स्थायी शिक्षकहरूलाई तर्साउन खोजेको बताए । उनका अनुसार डिभाइड एन्ड रुलको नीति लागू गर्न खोजेको छ । बीपीका स्थायी तथा करारमा रहेका सिनियर चिकित्सकहरूले वृत्तिविकासका लागि भन्दै विगतदेखि आन्दोलन गर्दै आएका थिए । आन्दोलनपश्चात् प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीसहित बसेको पदाधिकारी र आन्दोलनरत पक्षसँग मागको विषयमा सम्बोधन गर्ने भनी सहमति गरेको थियो । सहमतिमा एक महिनाको समयसीमा दिइएको थियो । उक्त अवधिमा पनि प्रतिष्ठानका पदाधिकारीहरूले माग सुनुवाइ गर्नेतर्फ चासो नदेखाएपछि बाध्य भएर गत असोज २६ गतेदेखि लागू हुने गरी प्रतिष्ठानमा कार्यरत १७७ जनाले सामूहिक राजीनामा बुझाएका थिए ।

प्रतिष्ठानका सकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामा बुझाउँदै दैनिक कामकाज छाडेका थिए । जसका कारण प्रतिष्ठानमा बिरामीहरू प्रत्यक्ष मारमा परेका छन् । नियमित समयमा हुँदै आएको शल्यक्रियालगायतका काम लगभग ठप्प छन् । यसको नेतृत्व बीपी प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले गरेको छ । यता रजिष्ट्रार सङ्ग्रौलाले आन्दोलनको नेतृत्व गरिरहेको समूहसँग छलफल गरेर नै करारको अन्तर्वार्ता खोलिएको बताए । उनले भने, ‘शिक्षक कल्याण समाजका प्रतिनिधिसँग छलफल गरेर करारको अन्तरवार्ता खोलेको हौँ ।’ करार र स्थायी शिक्षकहरूलाई ‘डिभाइड’ गर्न लागेको भन्ने बुझाइ रहेको भए पनि पदाधिकारीको सोचाइ त्यस्तो नभएको उनी बताउँछन् ।
यता शिक्षक कल्याण समाजका उपाध्यक्ष आचार्यका अनुसार समाजका प्रतिनिधिसँग अनुमति लिएर आधिकारिक रूपमा करारको अन्तर्वार्ता खुलाइएको होइन । उनले भने, ‘हाम्रो सल्लाहमा होइन । आइतबार अनौपचारिक रूपमा दुई चारजनासँग भेट्नुभो । काठमाडौँ जाने भन्नुभयो । हामीले जानूस् भनेर भन्यौँ । उहाँहरूको फटाइँपन हो । आधिकारिक रूपमा हामीले पर्मिसन दिएर गरेको होइन ।’ आन्दोलनरत पक्षले पदाधिकारी जिम्मेवार नभइदिँदा नै समस्या आइरहेको निष्कर्ष निकालेका छन् । बढुवा प्रक्रियाको अन्तर्वार्ता गरिसकेको अवस्थामा गत असोज ७ गते कायममुकायम उपकुलपति बनेका प्रा.डा. प्रल्हाद कार्कीले लोकसेवा आयोगलाई बढुवाको विषयमा रायसुझाव मागेकाले नै रोकिएको भन्ने बुझाइ रहेको छ ।

तर, रजिष्ट्रार सङ्ग्रौला भन्छन्, ‘नयाँ नियमावली अनुसार गर्नू भनी लोकसेवाले हामीलाई पत्र पठायो । प्रतिष्ठानले नयाँ नियमावली कार्यान्वयनको चरणमा छ । कभरिङ लेटर आउन मात्र बाँकी छ । कभरिङ लेटर आइसकेपछि नयाँ नियमावली प्रतिष्ठानका शिक्षक र कर्मचारीसँग छलफल गर्छौ । त्यो कुरालाई लिएर फेरि लोकसेवामा जान्छौँ । कासमा पारित गर्छाै त्यसपछाडि सिनेटबाट पारित हुन्छ ।’ उनले त्यति अवधिका लागि स्थायी शिक्षकहरूले समय पर्खिदिनका लागि आफूहरूले आग्रह गरेको बताए । ‘धैर्यधारण गरिदिनुहोस् । विद्यार्थीहरूलाई हेर्नुहोस् । हामीले गर्नसक्ने जति काम गर्ने हो । कानून मिचेर जान सक्ने अवस्था हुँदैन’–काठमाडौँमा रहेका उनले फोसम्पर्कमा भने । प्रतिष्ठानमा हाल करारका शिक्षकहरू करिब ३५ देखि ४० को हाराहारीमा छन् । करारको प्रत्येक वर्ष सम्झौता हुने गरेको छ । विगत ६ वर्षदेखि प्रतिष्ठानका शिक्षकहरूको पदोन्नति हुन सकेको छैन भने कर्मचारीको १५ वर्षदेखि हुन सकेको छैन । यता प्रतिष्ठानका पदाधिकारीहरूले भने स्थायीको हकमा नियमावली पूर्ण भइसकेपछि मात्रै बढुवाको प्रक्रिया अगाडि बढ्ने जनाएका छन् । ‘मिति नै किटान गर्न सक्दैनौँ, हामीले पहलकदमी गर्ने हो’–रजिष्ट्रार सङ्ग्रौलाले भने ।