इनरुवा । इनरुवा नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा सुविधा ग्यासको तौल कम भेटिएको छ । बजार अनुगमनका लागि निस्केको उपमेयर बिनिता मेहता संयोजकत्वको टोलीले सिलबन्द ग्यास जोख्ने क्रममा सुविधा ग्यासको तौल कम पाएको हो ।

बजारमा लामो सयमदेखि ग्यास कारोबार गर्दै आएको अंशु ग्यास पसलमा अनुगमन टोलीले सुविधा ग्यास जोखेको थियो । सो क्रममा अनुगमन टोलीले प्रत्येकजसो ग्यास सिलिण्डरमा ३ सय देखि ४ सय ग्राम ग्यास कम पाएको थियो । अनुगमन टोलीले ग्यास मापन गर्ने क्रममा पसल सञ्चालकले आफ्नो काँटा बिग्रिएको जानकारी गराउँदै सही मापन गर्ने भन्दै छिमेकीको पसलबाट काँटा झिकाउन सहयोग गरेको थियो । टोलीले सोही आधारमा सिलबन्द ग्यास सिलिण्डर जोखेको थियो ।

छड्के जाँचका रुपमा जोखिएको सिलिण्डरमा ग्यास कम पाएपछि अनुगमन टोलीले बिक्रीकालागि राखिएका अन्य ग्यास सिलिण्डर समेत तौलेको थियो ।

एकपछि अर्को सिलिण्डरमा तौल कम पाएपछि अनुगमन टोलीले बिक्रीकालागि गोदाममा राखिएका अन्य सिलिण्डर समेत जोखेको थियो । सो क्रममा समेत तौलमा कमी पाएपछि नगर प्रमुखले ग्यास जफत गर्न टोलीलाई निर्देशन दिएका थिए ।

नगर प्रमुख केदार भण्डारीले एकसाथ ठुलो संख्यामा सिलबन्द रहेका ग्यास सिलिण्डको तौल कम पाइएपछि उद्योग प्रशासनलाई फोन मार्फत अनुगमनका क्रममा कालोबजारी भएको पाइएको भन्दै ग्यास जफत गरिएको जानकारी गराएका थिए । सो क्रममा ग्यास उद्योगले उपभोक्ता ठगी गरेको पाइएकाले नगरपालिकाले कानुनी कार्वाहीको प्रकृया चाल्ने बताएका थिए ।

नगर प्रमुखको निर्देशन पश्चात नगर प्रहरीले ग्यास गोदाम कक्षमा तालाबन्दी गरेको छ भने नमूनाका रुपमा दशवटा सिलबन्द ग्यास सिलिण्डर नगरपालिका लगेको छ । नगरपालिकाले कम्पनीका व्यक्ति आएपछि थप प्रकृया अघि चालिने जनाएको छ ।

यता अनुगमन टोलीले ग्यासको तौल कम भेटेको विषयमा पसल संचालक ब्यापारीले त्यसमा आफुहरुको कुनैपनि संलग्नता नरहने प्रतिकृया दिएका छन । उनले कम्पनीबाटै सिलबन्द सिलिण्डर आउने भएकाले आफुहरुले बिक्री मात्रै गर्ने गरेको बताए ।

अघिल्लो दिन मात्रै २ सय ग्यास सिलिण्डर आफुले किनेर बिक्रीका लागि पसलमा राखेको बताउने पसल सञ्चालकले सिलबन्द सिलिण्डरमा ग्यास कमी भएको विषयमा भने स्वयं कम्पनी जिम्मेबार हुने बताए । यता ग्यासको तौल कम भेटिएको विषय सार्वजनिक भएलगत्तै मारुती ग्यास उद्योग प्रा.लि.सोनापुरको प्रतिनिधि टोली नगरपालिका पुगेको छ ।

उद्योगबाट आएको टोलीले आफुले ल्याएको काँटामा सिलिण्डर जोखेको नगरपालिकाले जनाएको छ । सो क्रममा तौल अनुसारकै ग्यास पाइएको भन्दै उद्योगका प्रतिनिधि टोलीले अनुगमनका क्रममा तौल जोख्न प्रयोग गरिएको काँटामा खराबी रहेको औंल्याएको नगरपालिका कार्यालयले जनाएको छ ।

यता अनुगमन टोलीमा सामेल उपभोक्ता मंच नेपालका अध्यक्ष अजय देवले स्पोटमा जे देखियो भेटियो त्यही वास्तविक हुने बताए । उनले ग्यास बिक्री गर्ने व्यक्तिलेनै ठिक छ भनी उपलब्ध गराएको काँटामा आफुहरुले सिलिण्डर जोख्दा तौल कम पाएको र सोही आधारमा अनुगमन टोलीले एक्सन लिएको बताए ।

देवले अनुगमनको हल्लाखल्ला पछि आफैं ढक काँटा लिएर आएको उद्योग टोलीको मापनलाई आँखा चिम्लेर विश्वास गर्न नसकिने बताए । त्यही भएर उपमेयर सहितको टोली नापजाँचकालागि नापतौल कार्यालय जाने निर्णयमा पुगेको उनले बताए ।

यता ग्यास बिक्री गर्ने पसलेले भनेबमोजिमकै काँटा मार्फत सिलिण्डर जोखेको अनुगमन टोलीले उद्योगबाट काँटा लिएर आएको टोलीले गरेको नापमा फरक पाएपछि नापतौल कार्यालयमा गएर सिलिण्डर जाँच यकिन हुने जनाएको छ । सोही आधारमा अन्य विषय अघि बढ्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

उता स्थानीय ब्यापारीका अनुसार ग्यास सिलिण्डरको तौल कम भएको विषय बाहिरिएपछि इनरुवा आएको उद्योगको टोलीले अनुगमन टोलीले सिलिण्डर जोख्न प्रयोग गरेको काँटा हेर्नुको साथै चलाएको थियो । सो क्रममा उसले उक्त काँटा बिग्रिएको भन्दै आफ्नो काँटा र उद्योगको तौल सही रहेको बताएको थियो । यसैबिच बजारमा ग्यास बिक्रीमा नाम चलेको पसलमा राखिएका सिलिण्डरमा तौल कम भेटिएपछि सर्वसाधारणले अन्य ग्यास पसलको समेत अनुगमन हुनुपर्ने माग गरेका छन् ।