खोटाङ/जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आजदेखि मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी –२०८० सुरु हुँदैछ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जिल्लाको धार्मिक,सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यही असोज २१ गतेसम्म कार्यक्रमको आयोजना गरिएको हो । 

मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत १४ देशका ४० ख्यातिप्राप्त चित्रकारको सहभागिता रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिने पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।

लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनी कार्यक्रमअन्तर्गत स्वदेश तथा विदेशका चित्रकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । 

“लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनी कार्यक्रमका लागि नेपालसहित विदेशी चित्रकार काठमाडौँबाट हिँडिसकेका छन् ,योअवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन्”, उनले बताए, “चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारका व्यावसायिक कक्ष, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यसले नगरको मात्र नभई जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।” 

चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा आउने चित्रकार, अतिथि लगायतलाई स्वागत गर्न दिक्तेल बजारदेखि महुरेगढीसम्मका विभिन्न ठाउँमा स्वागतद्वार तयार पारिएको छ भने बजार तथा सडक सरसफाइ गरेर सजाइएका छन् । चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो । 

  लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने दाबी गरिएको छ । चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ । 

गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवम् प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको परिचय तथा पर्यटकीय महत्वसहितका तस्वीर प्राथमिकीकरण एवम् छनोट गरिएको छ । 

यस्तै जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बिरसमेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ । नगरपालिकाको प्रमुख प्रवेशद्वार महुरेगढीबाट सुरु भएर विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमको पहिलो दिन आज अपराह्नबाट बजार परिक्रमा तथा विदेशी चित्रकारलाई सांस्कृतिक झाँकीसहित स्वागत गरिने कार्यतालिका छ ।