कोशी प्रदेश सभाको चौंथो अधिवेशन आजदेखि सुरु हुँदैछ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे सुरु हुनेछ ।

प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

२०७९ पुस १७ मा कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो । प्रदेशसभाको हालसम्म तीन वटा अधिवेशन सकिएको छ । यो अधिवेशनमा असोज २० भित्र मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । भदौ २२ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश सभाको प्रथम अधिवेशनमा १३ वटा बैठक सम्पन्न भएको छ । दोस्रोमा ६ वटा, तेस्रोमा ५ वटा बैठक भएको छ । तेस्रोको अन्तिम तथा पाँचौ बैठक अवरुद्ध भएको थियो ।