विजयपुर । सुनसरीको धरानमा प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छली गरी ल्याइएका किराना तथा खाद्यान्नका सामानसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान–८ स्थित तिनकुनेमा इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा सामान बरामद गरिएको हो।
प्रहरीका अनुसार मिनी ट्रकमा भन्सार छली गरी ल्याइएका अन्दाजी ९ लाख ८२ हजार ५ सय रुपैयाँ मूल्य बराबरका किराना तथा खाद्यान्नका सामान फेला परेका थिए।
प्रहरीले सामानसहित मिनी ट्रक र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ।
नियन्त्रणमा पर्नेमा मिनी ट्रकका चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदिप कुमार शाह, सहचालक मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशी रहेका छन्।
बरामद सामान, मिनी ट्रक र नियन्त्रणमा लिइएका तीनै जनामाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

































