बराहक्षेत्रस्थित स्वर्णिम साहित्य समाज स्थापनाको चौंथो वार्षिकोत्सवमा 'इतर कविता अभियान्ता' कवि पराजित पोमुको एकल कविता वाचन आयोजना गरिएको छ ।

कवि पोमुले उनको पहिलो कविता सङ्ग्रह 'लेप्मुहाङको डुङ्गा' र दोस्रो कविता सङ्ग्रह 'मद्वारा मेरो निर्माण' मा सङ्ग्रहित दर्जन बढी कविता वाचन गरे ।
'असहमति' शीर्षकको कविताबाट सुरु गरिएको एकल कविता वचनमा उनले 'साधारण मान्छे',  'सुधार गृहको आवाज', 'अविभाज्य पूर्णता', 'ॐ मणि पेमे', 'राम्रो म', 'फिलिङ्गो फूल', 'हिउँ परेको रात', 'मद्वारा मेरो निर्माण'   शीर्षकका कविता वाचन गरेका थिए ।

कविता वाचनमा स्थानीय कविहरु नदी राई 'मिसाम', सविता फागो चोङ्बाङ र वर्षा भण्डारीले कवि पोमूको कविता वाचनमा सहयोग गरेका थिए । कवि मिसामले 'नायुमा' शीर्षकको कविता वाचन गर्दा वर्षा भण्डारीले 'मौन प्रेम' शीर्षकको कविता सुनाइन् । यस्तै कवि सविता फागोले 'धुवाँको आकृति' शीर्षकको कविता वाचन गरेकी थिइन् ।

सांस्कृतिक चिन्तन, मुन्धुम संस्कृति र संस्कारको आलोकमा सिर्जित स्थानीय, अर्गानिक र मौलिक कविताहरुको बाहुल्यता रहेको कविता वाचनमा पोमूको कवितामाथि कवि देवान किरातीले टिप्पणी गरे । वक्ताका रुपमा कवि किरातीले कविताका बारेमा बोल्न यो समयमा जोखिम रहेको बताए । उनले कवितामा हुल्लडबाजहरु लागेको र कविताहरु नलेखिएको बताए ।

कविले राजनीतिक दलको भातृसङ्गठनजस्तो समूह खोदै हिडेको बताए । 'हाम्रो समयमा अग्रजले कविता लेखेको भएन भन्दा हामी सुधार गर्थ्यौ, अहिलेका कविलाई कविता भएन भन्यो भने ढुंगा हान्छ्न ।' कवि किरातीले भने । कवि किरातीले अहिलेका कविले कवितालाई अभिव्यक्तिको माध्यम बनाएको बताए । 'बाह्यरुप कला हो, भित्री रुप आत्मा हो, जुन भाव हो, विचार हो,' किरातीले भने,' यो भएन भने कवितामा दम हुदैन ।'

कवि पोमूका कविताको कलामा त्यत्ति धेरै मिहिनेत नगरेको किरातीले टिप्पणी गरे ।  किरातीले 'क्यारेक्टर'बिना कविता नबन्ने बताए । 'कवितामा 'रिदम' घर्क्यो भने कविता फेल हुन्छ, कमसल हुन्छ ।' कवि किरातीले भने, 'कवितामा गणित पनि हुन्छ ।'

कवि किरातीले पोमूका कवितामा धेरै चिप्लिएको बताए । कवितामा कवि पोमूले भाषा, शब्दको निर्माण गरेको बताए । 'पराजितले रैथाने समाजको संवाद र मूलुक बाहिरका भाषाको निर्माण गरेका छन् ।' कवि किरातीले भने ।

आयोजित एकल कविता वाचनमा कवि चन्द्र गुरुङ, अमित थेबे, विशाल नाल्बो, इन्दुनेपाल योन्जन, छविना लुङ्गेली मगरलगायत कविको उपस्थिति थियो ।

साधारण सभामा समाजका अध्यक्ष दिप्सालीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष शारदा निरौला सारुले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । साधारण सभाले कोषाध्यक्ष सारुलाई योगदानको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मानसमेत गरेको थियो ।

आयोजित कार्यक्रममा स्थानीय शिक्षासेवी देवेन्द्रबहादुर विष्ट, राजनीतिकर्मी रुद्र दाहाल कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र ३ का वडाध्यक्ष राजदीप लामालगायतले शुभकामना दिएका थिए ।