जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानमा ट्राफिक व्यवस्थापनमा भावी कार्ययोजना तयार गरी कार्यान्वयन थालेको छ । 

ट्राफिक प्रहरी निरीक्षक सुवास केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको नेतृत्वमा आएपछि स्थानीय सरोकारवाला र विज्ञहरुसँग बसी संकलन गरिएको सुझावलाई कार्यान्वयनको चरणमा लगेको बताउँछन् । 

धरान नगरक्षेत्रको ट्राफिक व्यवस्थापनलाई सम्बन्धित सरोकारवाला निकाय र विज्ञहरुको सुझावबाट ट्राफिक व्यवस्थापन गरी कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले सुझावलाई कार्यान्वयनको चरणमा लगिएको हो,’ ट्राफिक प्रहरी निरीक्षक केसीले भने, ‘कार्ययोजना तयार छ, यसको कार्यान्वयनको चरणमा जाँदैछौं ।’

कार्ययोजनामा पुतलीलाइन सब्जीमण्डी एकतर्फीदेखि सिटीसफारी व्यवस्थापनसम्मका बुँदा उल्लेख छन् । 


blastkhabar.com (2) 2

धरान उपमहानगरपालिकामा नयाँ बसपार्क निर्माण प्रकृया भइरहेकाले भएको बसपार्क धेरै पुरानो र हालको सवारी साधनको चापलाई धान्न नसक्ने हुँदा हालको बसपार्क ‘बसपार्क नभई’ बस स्टेण्ड मात्र भएकाले निर्माणाधीन बसपार्क सञ्चालनमा ल्याउन सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक भूमिका बहन गरिने कार्ययोजनामा उल्लेख छ ।

सम्बन्धित पक्षहरुको सहकार्य र सुझावबाट ‘नाइटबस’लाई पुनः भानुचोक बसपार्कमा ल्याएको हुँदा सो कार्यलाई व्यवस्थित गर्न निर्धारित समय छुट्याउन लगाउने ट्राफिक प्रहरीको कार्ययोजना छ । 

यस्तै सिटिसफारी व्यवस्थापनमा कार्यालयले अनिवार्य दर्ता प्रकृया सम्बन्धित निकाय यातायात कार्यालय र नगरपालिकामा गर्न लगाउने कार्ययोजना बनाएको छ । प्रहरी निरीक्षक केसीका अनुसार सम्बन्धित निकायसँग छलफल भइसकेको छ । 

यस्तै अनिवार्य भाडादर निर्धारण गर्नका लागि समेत नगरपालिका र सम्बन्धित व्यवसायीसँग छलफल भएको छ । यसमा सम्बन्धित पक्ष सकारात्मक देखिएकाले  थप छलफल गरी भाडा निर्धारण गरिने छ । 

सिटी सफारी चालकलाई सी वर्गको अनुमति–पत्र अनिवार्य हुनु पर्ने र सोका लागि प्रहरी निरीक्षक केसीको पहलमा यातायात व्यवस्था कार्यालयले वितरण कार्य गरिरहेको छ । यस्तै दुर्घटनापछिको जोखिमलाई समेत दृष्टिगत गरी अनिवार्य बिमाका लागि कार्ययोजना तयार गरिएको छ । 

अटोरिक्सा टेम्पोसमेत यातायात व्यवस्था कार्यालय र नगरपालिकामा अनिवार्य दर्ता प्रकृयामा लाने, अनिवार्य भाडादर निर्धारण गर्ने गरी सम्बन्धित व्यवसायीसँग छलफल भएको र थप छलफल गरी भाडा निर्धारण गर्ने सहमति भएको प्रहरी निरीक्षक केसीले बताए । यस्तै एकतर्फी सडक (वन–वे) लाई पूर्णरुपमा लागू गरिने र चेकिङ बढाउने प्रहरी निरीक्षक केसीले बताए । उनले रत्नचोकको एकतर्फी सडकलाई व्यवस्थित गर्नेसमेत बताए । 

पुतलीलाइन, सब्जीमण्डीलाइन एकतर्फी सडक (वन–वे) बनाउनका लागि कार्ययोजना तयार भएको र चाँडै सम्बन्धित निकायसँग बसी एकतर्फी निर्धारण गर्ने प्रहरी निरीक्षक केसीले बताए ।

कार्ययोजनामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपागेट आसपास क्षेत्रको पार्किङलाई व्यवस्थित गर्ने, ‘ठूला आवाज गरी ध्वनि प्रदूषण गर्ने, मोडिफाई गरी सञ्चालन गर्ने मोटरसाइकललाई पूर्ण नियन्त्रणमा लिने र कारबाही गर्ने’ यातायात व्यवसायी, यातायात कर्मचारी–मजदुरले अनिवार्य ज्याकेट परिचयपत्र कार्यान्वयनमा ल्याई अनावश्यक बिचौलियालाई पूर्ण रुपमा नियन्त्रणमा लिनेलगायतका बुँदा कार्ययोजनामा उल्लेख छन् । 

blastkhabar.com 5

स्कुल–कलेजसँग समन्वय गरी विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धि प्रशिक्षण दिने, ट्राफिक जाम व्यवस्थापन गर्न घण्टाघर अगाडिको पार्किङ एरियामा उपमहानगरपालिकासँग समन्वय गरी घण्टे पार्किङ शुल्क लगाउने सो प्रस्तावमा छलफल गर्ने, पहाडी क्षेत्रमा सञ्चालित बसलाई नगर तथा वडा कार्यालयको सहकार्यमा धरान–१३ स्थित उपयुक्त स्थानको छनोट गरी पर्किङको व्यवस्था मिलाउने र सोबारे सम्बन्धित पक्षसँग छलफल गर्ने कार्ययोजनामा उल्लेख छ  ।

यस्तै हाल भाडाको घरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन रहेकामा आफ्नै भवन निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय, सहकार्य गरी पलह गर्ने, ट्राफिक नियमसम्बन्धि सचेतना कार्यक्रम सरोकारवाला पक्षसँग समन्वय गरी स्थलगत रुपमा सञ्चालन गर्ने साथै कार्ययोजना कार्यन्वयनमा प्रभावकारिता ल्याउने प्रहरी निरीक्षक केसी बताउँछन् । 

मापसे र लापसे चेकजाँच गरी सम्भावित दुर्घटना न्युनीकरण गर्न आफ्नो मुख्य ध्येय रहेको कार्ययोजना प्रस्तुत गर्दै प्रहरी निरीक्षक केसी ट्राफिक प्रहरी हुँदामात्र होइन नहुँदा पनि नियम पालना गर्न आग्रह गरेका छन् ।