धनकुटा । पहुँचविहीनका लागि पहुँच भन्ने मूल नाराका साथ जिल्ला अस्पताल धनकुटामा आइतबारदेखि शल्यक्रियासहितको निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

स्वास्थ्य शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा शुरु गरिएको हो । स्वास्थ्य शिविरको एक समारोहकाबीच पूर्व मन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लहाकार सुनिलवहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गरे ।

विशेष गरेर उत्कृष्ठ स्वास्थ्य सेवावाट वञ्चित भएका असहाय र निम्न वर्गका सेवाग्राहीहरुलाई सेवा पुर्याउने उद्येश्यले शल्यक्रिया सहितको स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

वृहत शल्यक्रिया सहितको निःशुल्क स्वास्थ्य शिविर मुल आयोजक समितिको आयोजना र सल्भ नेपाल धनकुटाको सह–आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अलोह मेडिकल मिसनका ४२ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले स्वास्थ्य शिविरको आयोजना गर्नुको मुख्य उदेश्य नै पहुँचविहिनहरुलाई स्वास्थ्य सेवा पुग्न सकोस भन्ने उद्येश्यले आयोजना गरिएको बताए । 

यसैगरी अलोह मेडिकल मिसनका टोली प्रमुख डा क्लेम्प क्रिष्टोफरले स्वास्थ्य सेवावाट वञ्चित भएका र सुविधा सम्पन्न स्वास्थ्य सेवावाट विमुख भएका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको बताए ।

छैठौ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पथरिया, मुत्रनलीमा भएको पथरिया, दन्त सेवा, आङ्ग खसेका महिलाहरुको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाईराईड लगायतको उपचार गरिनेछ । स्वास्थ्य शिविर असोज १ गतेदेखि असोज १२ गते सम्म जम्मा १२ दिन सञ्चालन हुनेछ ।