इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले २ लाख मूल्य बराबरको बरामद पटाकाजन्य पदार्थ नष्ट गरेको छ ।

नम्बर ४ गण सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी बरामद पटाकाजन्य पदार्थ नष्ट गरेको हो । गणका डिएसपी प्रेम सिग्देलका अनुसार पटाकाजन्य वस्तु सशस्त्रको टोलीले भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ को घिर्नी पुलनजिक खेतमा फेला पारेको हो ।

२ लाख २४ हजार मूल्य बराबरको पटाकाजन्य पदार्थ बेवारिसे अवस्थामा भेटिनुलाई सशस्त्र प्रहरीले कारोबारीले सामान छाडेर भागेको हुनसक्ने अनुमान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले चाडबाड नजिकिँदै गर्दा पटाकाजन्य पदार्थलगायत भन्सार छलीका सामानको कारोबार बढ्न सक्ने हुनाले सीमामा कडाइ गरिएको समेत जनाएको छ ।

गण हेड क्वार्टर सुनसरीले चोरी तस्करीको सूचना भए जानकारी दिन सर्वसाधारणसमक्ष अनुरोधसमेत गरेको छ । उसले नाकामा हुने कानून विपरीतका कार्यलाई सशस्त्रले सूक्ष्म रूपमा नियाल्दै आएको जनाएको छ ।