भनिन्छ, स्रष्टाले हेर्ने दृष्टिकोण समाजले हेर्ने दृष्टिकोणभन्दा ज्यादै नै फरक हुन्छ । स्रष्टाको हेराइ र समाजको हेराइको दृष्टिकोण वा दूरान्तर झण्डै सय वर्षको अघिपछिको हुन्छ । अर्थात् समाजले सय वर्षपछि देख्ने अवस्था स्रष्टाहरूले तत्कालै देखिसकेका हुन्छन् । समाजलाई उछिनिसकेका हुन्छन् । किनकि स्रष्टा समाजका अति संवेदनशील, चेतनशील, अग्रगामी प्राणी हुने गर्दछन् । त्यसैले पनि भन्ने गरिन्छ– ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछ कवि ।’ स्रष्टा समाजका निर्देशक हुन् । स्रष्टामा नै त्यस्तो सिर्जनात्मक शक्ति विद्यमान रहेको हुन्छ जसको प्रभावले वा सिर्जनात्मक मार्गबाट कुनैपनि समाज बदलिन सक्छ । गलत बाटोमा हिँडेको समाजलाई सही मार्गनिर्देश हुनसक्छ । यति मात्र होइन, स्रष्टाले समाजलाई राम्रो नराम्रो खुट्याइदिने र राम्रोलाई प्रष्टीकरण गरिदिने गर्छ । 

यसकारण पनि स्रष्टा सधैँ समाजको आकर्षण र अनुयायीका पात्र हुने गरेका हुन् । एउटा सङ्गीतकार, एउटा चित्रकार, एउटा नाटककार, एउटा गीतकारका सङ्गीतमा, चित्रमा, नाटकमा र गीतमा समाज जति छिटो प्रभावित, आकर्षित र आनन्दित हुने गर्दछ, त्यति छिटो र सहजै अन्य विषय र क्षेत्रहरूमा समाज सम्मोहित वा आनन्दित हुन सक्दैन । यतिमात्र होइन, स्रष्टा नै ती विराट शक्तिस्वरूप हुन्, जसबाट प्रस्फुटन भएका सिर्जनात्मक अभिव्यक्तिले विश्वका ठूल्ठूला तानाशाहहरू, हिंसाका प्रतिमूर्तिहरू, क्रुरताका उदाहरणहरू र आतङ्कलाई प्रश्रय दिनेहरू डग्मगाएका इतिहास छन् हामीसँग ।

यसै सन्दर्भमा विश्वको इतिहासमा सन् १८७९ मा स्विजरल्याण्डमा जन्मेका चित्रकार पललीको चित्रकृतिहरूले हिट्लरलाई व्यङ्ग्य बर्साउँदै नाजीवादको जग हल्लाइदिएको सम्झना आउँछ । विश्वविख्यात कलाकार पाब्लो पिकासोको चित्रकृति ‘गोयर्निका’ ले विश्वयुद्धको साम्राज्यवादी दम्भलाई धज्जी उडाउँदै प्रतीकात्मक रूपमा हिंसा, निरीहता र निमुखाको स्थितिलाई अभिव्यक्त गरेको चित्र आँखाअगाडि नै घुम्छ । यस्तै नेपोलियनलगायत संसारका थुप्रै त्रूmर र सन्की शासकहरूको स्वेच्छाचारिता र उच्छृङ्खलतालाई स्रष्टाले आच्छु–आच्छु पारेको इतिहास ताजै छ ।

स्वदेशमा नै नियाल्ने हो भने पनि प्रथम पुस्ताका नेपाली चित्रकार चन्द्रमानसिंह मास्केको एक व्यङ्ग्यचित्रले जहानियाँ राणा शासनमा हलचल नै मच्चाइदिएको पाइन्छ । उनको चित्रले जुद्धशमशेरजस्ता शासकलाई पनि थरथर कँपाएको थियो र जहानियाँतन्त्र जोखिममा पर्ने र विलय हुने त्रास मिश्रित आवेगले मास्केलाई सर्वस्व हरण र अठार वर्षसम्मको कठोर जेल सजाय तोकिदिएको थियो । यस्तै मनोहरमान पुनले जुद्धशमशेरको चित्र बनाउँदा रातो रङको प्रभाव बढी पर्न गएकोले शमशेरले आफूमाथि व्यङ्ग्य भएको ठान्नेछन् र उनीमाथि आइपर्ने त्रासदीले मलाई पक्कै सजाय दिनेछन् भन्ने डरले मनोहरमान जुद्धशमशेरलाई नभेटी नै भारत पलायन भएको उदाहरण ताजै छ ।

साहित्य फाँटबाटै पनि देवकोटा, सिद्धिचरण र लेखनाथका कतिपय क्रान्तिकारी रचनाहरूले विविध समयकालका राणा, पञ्चायतलगायतका शासकवर्गको मुटुमा ढ्याङ्ग्रो ठोकेको इतिहास छ । राणाकालमा सम्पूर्ण परिवर्तनकामी स्रष्टाकै ऐक्यबद्धताको जोडले एकसय चार वर्षे जहानियाँ राणा हैकम वा शासन ढलेपछि वि.सं. २००७ सालले रोपेको स्वतन्त्रता र प्रजातान्त्रिक वीजको विकासक्रम निरन्तर हुनुपर्ने अवस्थामा चित्रकार दुर्गा बराल (वात्सायन) लगायतका कलाकारलाई पछिल्लो समयकालमा पनि राणाकालीन प्रवृत्तिमा कुर्लने र फरक मत र विचार राख्ने कलाकारलाई गोली नै दाग्ने दुस्साहस गर्नेजस्ता त्यतिबेलाको सरकारी विक्षिप्तता न्यायोचित वा न्यायसङ्गत मान्न हामीले सकेनौँ । कर्तव्यबाट पन्छिन र आफ्नो गल्ती गौण पार्न पनि प्रत्येक समयकालमा सत्ताधारीहरू यसरी नै पहिल्यै जाइलाग्ने गरेका घटना आजको समयसम्म आइसक्दा पनि विभिन्न नाम र रङ्गरोगनमा घटित हुँदै आएको हामी देखिरहेका छौं ।

स्रष्टा स्वभावैले अग्रगामी हुन्छन् र राजनैतिक परिवर्तनमा उनको अहम् भूमिका हुन्छ भन्नेकुरा कुनै पनि शासक वा शक्तिधारीहरूले बुझ्न जरुरी हुन्छ । हिजोको पञ्चायती शासनकालमा पनि गाउँ–गाउँबाट र बस्ती–बस्तीबाट उठाउँदै जनवादी गीतको ध्वनि छर्ने रामेश, जे.बी. टुहुरे, मञ्जुललगायत धेरै कलाकर्मी, कलाधर्मीहरू जनवादी गीतको ध्वनि छर्ने र जनताका कविता कोर्ने स्रष्टामाथि पञ्चायती सरकार हतोत्साहित हुँदै जाइलागेको इतिहास छ । वास्तवमा स्रष्टामाथि जाइलाग्ने प्रचलन स्रष्टाको विरोधको सरकारी त्रासदी मात्र हो, अरू केही होइन । यस्तै त्रासदी वि.सं.२०६२÷०६३ को दोस्रो जनआन्दोलनताका पनि देखियो । त्यतिबेला राजाको स्वेच्छाचारितालाई तिलाञ्जली दिन स्रष्टा ऐक्यबद्ध भएका थिए । लोकतान्त्रिक अभियान डढेलो झैँ सल्किसकेको थियो । राजधानीबाट उठान भएको स्रष्टा ऐक्यबद्धता जिल्ला–जिल्लासम्म फैलिइसकेको थियो । 

दोस्रो जनआन्दोलनमा सर्वप्रथम काठमाडौँको गुरुकुलबाट स्रष्टाले लोकतान्त्रिक अभियानमा बृहत् ऐक्यबद्धता जनाएका थिए । जसमा चित्रकार, चलचित्रकर्मी, नाटककार, साहित्यकारलगायतको एक ठूलो भेलाले विशाल जुलुस निकालेको थियो । जसमा स्रष्टा एवम् विभिन्न कोणहरूबाट ख्याति आर्जन गरेका व्यक्तित्वहरू थिए–चित्रकार किरण मानन्धर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अशोक शर्मा, डा. तुलसी भट्टराई, सुनिल पोख्रेल, नवीन सुब्बा, रविन कोइराला, राजन काफ्ले, शान्त राई, मातृका पोखरेल, सत्यमोहन जोशी, डा. सरोज धिताल, सुलोचना मानन्धर, डा. अरुण सायमी, डा. महेश मास्के, श्याम श्रेष्ठ, निनु चापागाईंलगायतका हजारौँ स्रष्टा व्यक्तित्वहरू । यस्तै धरानमा चित्रकारकारिता तर्फबाट तीर्थ निरौला, कवि तथा साहित्यकारका तर्फबाट डा. गोपाल भण्डारी, वेणु आचार्य, स्व.बद्री पलिखे, रङ्गकर्मीका तर्फबाट राजेन्द्र रिमाल, पत्रकारका तर्फबाट राजकुमार कार्की, भीमज्वाला राई, राजेश विद्रोही, आनन्द श्रेष्ठ, गोपाल देवानलगायत थुप्रै स्रष्टा र पत्रकारहरू सङ्गठित भएका थिए । विराटनगर, पोखरालगायतका क्षेत्रमा पनि यसरी नै स्रष्टा सङ्गठित भई अन्ततोगत्वा राजाको शासन अन्त्य गर्ने र लोकतन्त्रलाई आमन्त्रण गर्ने अभियानमा सफल भएका थिए । 

अन्ततः स्रष्टा शक्ति सबै शक्तिभन्दा ठूलो र चेतनशील शक्ति हो । यो शक्तिले जहिले पनि रचना र सिर्जनाद्वारा राज्यमा सत्य बोल्छन्, खबरदार बोल्छन् र दिशानिर्देश गर्छन् भलै त्यहाँ कुनै राजनैतिक वा सामाजिक व्यवस्था नै किन नहोस् । अचेल नेपालमा देखिएको पछिल्लो विकसित राजनीतिक अवस्था र यसको गिर्दो साखले देश र नेपाली जनतालाई चित्त बुझाउन नसकिरहेको परिप्रेक्ष्यमा भोलिको दिनमा नयाँ बिहानी खोज्न स्रष्टाहरूले नै अग्रिम भूमिका खेल्नुपर्ने हुनसक्छ । जब जब समाजमा कालो बादल मडारिन खोज्छ, तब तब समाजलाई स्रष्टाहरूको नै खाँचो पर्छ । स्रष्टा सदैव समाजको राम्रोको पक्षमा उभिन्छ र माथि नै भनिएजस्तै उभिइरहेको इतिहास पनि छ ।