विराटनगर । धरानका दुई किशोरको मोबाइल लुटपाट गरी फिरौती रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिकसँगको मिलेमतोमा धरान घर भई विराटनगरमा काम गर्दै आएका किशोरको साथबाट मोबाइल लुटपाट गरेर अभिभावकसँग फिरौती रकम मागेको घटनामा संलग्नहरूलाई विराटनगरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक र दीपक अधिकारी रहेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ फोकल्याण्ड टापुका प्रज्ञान राई र इटहरी उपमहानगरपालिका–१९ तरहराका आशिष गुरुङ विराटनगरको ट्राफिक चोकनजिकको टोम एण्ड जेरी होटलमा काम गर्दै आएका थिए । उनीहरूलाई २–३ दिनअघि साथीहरूले भारतको जोगवनी पु¥याएका थिए ।
जोगवनी पु¥याएर प्रज्ञानको साथमा भएको मोबाइल लुटपाट गरिएको थियो । मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजेपछि उनीहरू भागेर नेपाल आएका थिए । प्रारम्भिक अनुसन्धानबाट लुटपाट गरेकै मोबाइलबाट फोन गरेर प्रज्ञानका अभिभावकसँग फिरौतीमा ३० हजार रुपैयाँ माग गरेको पत्ता लागेको छ ।
‘छोरा चाहिन्छ भने ३० हजार पैसा लिएर विराटनगरको बिग होटलछेउमा आउनू’ भनेर फोन आएपछि प्रज्ञानका बुबा खेमप्रताप राईले मङ्गलबार बिहान इलाका प्रहरी कार्यालय धरानमा खबर गरेका थिए । त्यसलगत्तै मोबाइल लुटपाट गरेर फिरौती माग्नेको खोजीका लागि धरानबाट इन्स्पेक्टर जीवन कुँवर नेतृत्वको टोली विराटनगर आइपुगेको थियो ।
धरानबाट खटिएको टोलीले मोरङ प्रहरीसँग समन्वय गरेर अपराधीहरूलाई पक्राउ गरेको हो । डीएसपी जबेगूका अनुसार सुरुमा विराटनगर बसपार्कबाट प्रलव र दीपक पक्राउ परेका थिए । तर उनीहरूले भारत जोगवनीका गोलु सिंहले फिरौती रकम लिन पठाएको बयान प्रहरीलाई दिएका छन् ।
घटनामा पीडित भनिएका प्रज्ञान र आशिषसहित विराटनगर–१५ की २० वर्षीया विजेता तामाङलाई इटहरी–१९ तरहराबाट सकुशल उद्धार गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले आवश्यक परेका बेला उपस्थित हुने सर्तमा मङ्गलबार साँझ अभिभावकको जिम्मा लगाएर पठाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पीडित र पीडक साथी–साथी रहेको खुलेको छ । ‘सुरुमा उनीहरू सल्लाहमै जोगवनी पुगेको देखिन्छ । तर त्यहाँ पुगेपछि साथमा भएको मोबाइल लुटपाट गरेर आक्रमण गर्न खोजिएपछि प्रज्ञान र आशिष भागेर नेपालतिर आएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ’ –डीएसपी जबेगूले भने ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।