धरान । एयर इन्डियाको फ्लाइट नम्बर एआइ १७१ विमान भारतको गुजराज राज्यको अहमदावादमा दुर्घटनाग्रस्त हुँदा यात्रुको मृत्यु भएको छ । 

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै विमान दुर्घटनामा परेको जनाएको हो । अहमदावाद–लन्डन ग्याटविक उडानमा रहेको विमानमा चालकदलका सदस्यसहित २ सय ४२ जना यात्रु रहेको जनाएको छ । जसमध्ये १ सय ६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिस नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक रहेको जनाइएको छ ।

उक्त विमानमा यात्रारतमध्ये २ सय ४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनामा २ सुय ४ जनाको शव फेला परेको अहमदावादका प्रहरी आयुक्त जीएस मलिकले जनाएका छन् । उनका अनुसार हालसम्म २ सय ४ वटा शव सङ्कलन भएको छ । दुर्घटना परी घाइते भएका ३८ जनाको उपचार भइरहेको छ । 

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले विमान दुर्घटना भएको पुष्टि गर्दै मेघानी नगरको एक आवासीय क्षेत्रमा खसेको थियो । दुर्घटनाबाट घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । विमान दुर्घटना भएका कारण अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालका लागि उडान स्थगित गरिएको छ । विमान उडेको केही सेकेण्डभित्रै दुर्घटना हुन पुगेको थियो । विमानले बेलायतको लन्डनतर्फ उडान भर्दै गरेको जनाइएको छ । 

विमान उड्दाको समयमा मौसम पनि सफा रहेको जनाइएको छ भने सतहमा हावाको वेग पनि हल्का मात्रै रहेको जनाइएको छ । मौसम तथा हावाका कारण दुर्घटना नभई मेसिनरी खराबीका कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एयर इन्डियाले भने दुर्घटनाको कारणबारे खोजी गरिरहेकोले चाँडै अद्यावधिक गरिने जनाएको छ । उक्त विमानले १४ वर्षअघिबाट उडान सुरु गरेको थियो ।