धरान । भारत सरकारले धरानसहित नेपालका विभिन्न स्थानका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले शनिबार एकैसाथ धरान, काठमाडौँ, वीरगञ्ज र पोखरामा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको हो । 

सात प्रदेश समेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ । 

यस्तै वीरगञ्ज र पोखरामा सात–सात तथा धरानमा चारवटा एम्बुलेन्स प्रदान गरिएको छ । कोशी प्रदेशअन्तर्गतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई चारवटा एम्बुलेन्स वितरण गरिएको पेन्सन वितरण कार्यालय धरानले जनाएको छ । कार्यालय परिसरमा चिचिला गाउँपालिकास्थित गाउँपालिकाको अस्पताल, म्याङ्लुङ नगरपालिकाअन्तर्गतको आम्बुङ स्वास्थ्य चौकी, चौदण्डी नगरपालिका र महाकुलुङ बेसिक अस्पताललाई एम्बुलेन्स प्रदान गरिएको हो । पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । 

कार्यक्रमको पूर्वसन्ध्यामा मेजर कनोजियाले पेन्सन वितरण कार्यालयको कार्य र यसले गर्दै आएको कामबारे बताएका थिए । उनले पेन्सन वितरण मात्रै नभई सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यमा पनि कार्यालयले भूमिका खेल्दै आएको बताए । उनले नेपाल र नेपाली जनतासँग परापूर्वकालदेखि रहेको मित्रता, सम्बन्ध र भाइचारालाई कायम गर्दै जनतालाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए । 

काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । 

भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको जनाएको छ । यस्तै तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।