भोजपुर।भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन्। एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन्।
यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताएका छन्। हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ  बिरुवा धमाधम विस्तार गरिरहेको उनले बताएका छन् ।
“हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्”, उनले भने, “सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म  आम्दानी लिन सकिन्छ। अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।”
वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ। यहाँको भङ्गेरी तथा पालुवा  सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ। सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए।
भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए। यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ।
                    
        
                                        
                                                                                                
        































