काठमाडौ / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएको छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उनले दलहरुबीच यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन् । अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ, उनले बताए ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमलालाई सरकारले गम्भीर रुपमा लिएको जनाउँदै आक्रमणकारीलाई प्रचलित कानुनअनुसार कार्वाही गरिने बताएका छन् । यसप्रकारका आक्रमणका घटनाहरु दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताए । 

प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा समयमै उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा दोषी देखिएमा कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास समेत दिलाएका छन् ।

यही भदौ १८ गते बेलुकी उपचारका लागि पुगेकी मकवानपुर स्थायी ठेगाना भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिसा गोपालीको आकस्मिक कक्षमा समयमै उपचार नपाएर मृत्यु भएको थियो । घटना सार्वजनिक भएलगत्तै अस्पतालबाट पाँच दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएकामा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको उनले सदनलाई जानकारी गराएका छन् ।