मोरङ / कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको सो कार्यक्रममा झालाई  पुरस्कार प्रदान गरिएको हो ।

उनलाई  रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको छ ।  उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरेका छन्। लामो समयदेखि पत्रकारितामा पु¥याएको योगदानको कदरस्वरुप झालाई सम्मान गरिएको पत्रकार महासङ्घ मोरङले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका छन् । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०४५ सालदेखि निरन्तर मोति जयन्तीका अवसर पारेर प्रदान गरिँदै आएको छ । मोति जयन्तीका दिन शोक बिदा भएकाले एक दिन ढिलो गरेर पुरस्कार वितरण गरिएको पत्रकार महासङ्घ मोरङले बताएको छ ।