विश्व आत्महत्या रोकथाम दिवसअन्तर्गत धरान उपमहानगरपालिकामा अन्तर्कृया गरिएको छ ।
अन्तर्कृयामा नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले पिर नै आत्महत्याको कारण भएको बताएका छन् ।

नगर प्रमुख साम्पाङले श्रम नगर्दा  पिर बढ्ने भएकाले पिर नलिन र माटोमै श्रम गर्न आग्रह गरे । 'नाथे पिर ! मैले त गीतै लेखेको छु । कमिलालाई हेरौं, मौरीबाट सिकौं',' नगर प्रमुख साम्पाङले भने, 'श्रमबाट समृद्धि प्राप्त हुन्छ, मानिस समृद्ध भयो भने पिर हुदैन, पिर भएन भने आत्महत्या हुने कुरै भएन ।'

धरान स्वास्थ्य महाशाखासँगै इलाका प्रहरी कार्यालयको सहआयोजना भएको कार्यक्रममा 'आशा जगाऔ, जीवन बचाऔ' भन्ने नाराका साथ अन्तर्कृया गरिएको हो ।

अन्तर्कृयामा बिपी प्रतिष्ठानका सहायक प्राध्यापक मनोचिकित्सक डा. मधुर बस्नेतले अधिकांश आत्महत्याका घटना मानसिक रोग र डिप्रेसनबाट हुने बताए । उनले प्रस्तुतीकरणमार्फत तथ्य र तथ्यांक प्रस्तुत गरे । व्यक्तिले एकैचोटि आत्महत्याको निर्णय नगर्ने, धेरै योजनाबाट मात्र आत्महत्याको निर्णयमा पुग्ने बताए । तथ्याङ्कअनुसार  हाल २४ प्रतिलाखमा रहेको तथ्यांक ९ प्रतिलाखमा घटाउने सरकारले दिगो विकास लक्ष्य राखेको छ ।

Dharan Aatmahatya interaction

तथ्यांकअनुसार आत्महत्या गर्ने दर नेपाल विश्वको सातौ स्थानमा रहेको छ । व्यक्तिले प्रतिमिनेट २ जनाले आत्महत्या गर्ने तथ्यांक रहेको मनोचिकित्सक डा. बस्नेतले बताए ।

अन्तर्कृयामा धरानका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले मान्छे विकासको चरणमा अघि बढ्दै गइरहे पनि तनाव बढ्दै जाँदा आत्महत्याको दर बढ्दै गएको बताए । उनले जीवन जगत र अध्यात्मलाई दिनचर्यासँग जोड्नु पर्ने धारणा राखे ।
इलाका प्रहरी कार्यालयका सइ निर्मल तामाङले आत्महत्या रोकथाम सम्बन्धि सचेतनामूलक प्रस्तुतीकरण गरेका थिए ।

धरानमा गत आर्थिक वर्षमा ३५ जनाले झुन्डिएर र ४ जनाले विषादी सेवन गरेर  आत्महत्या गरेको इलाका प्रहरी कार्यालयको तथ्यांक छ ।

आर्थिक वर्ष ०७८/७९ मा ३९ जनाले झुन्डिएर आत्महत्या गरेका थिए भने विषादी सेवनबाट ८ जना र दुरुत्साहनबाट ४ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आर्थिक वर्ष ०७७/७८ मा ४२ जनाले झुन्डिएर र ८ जनाले विषादी सेवन गरेर  आत्महत्या गरेको इलाका प्रहरी कार्यालयको तथ्यांक छ ।