काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले अनुगमनमा कडाइ गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।

विभाग प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ्य पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताएका छन । उनका अनुसार महानगरले यही भदौ १ गते देखि नियमितरूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौ भरी पानीको अनुगमन गरिने र असोज महिनामा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिने बताएका छन। चालु आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा झाले जानकारी दिए। 

“जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ”, उहाँले भन्नुभयो । उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले  कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ ।

“पानी उत्पादक कम्पनीलाई पनि थाहा हँुदैन, उसको पानीको जार कहाँ छ त्यो पानी कसको हो भनेर”, विभाग प्रमुख डा झाले भन्नुभयो, “पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो । पानी आउने मुख्य नाकामा क्रमिकरूपमा अनुगमन गरिरहेका छौँ ।”

अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सीकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका, २०७४ अनुरुप अनुगमनलाई कडाइ गरिएको हो। निर्देशिकामा जार कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ । अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ । सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ ।

काठमाडौँ महानगरमा जति पनि पानी उत्पादक संस्था छन् तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा झाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म सचेतमात्र गराइरहेका छौँ । अब कुनै कैफियत देखिए कारबाही गर्छौँ ।”

विभागले नेपाल वाटर बोटल उद्योग सङ्घका पदाधिकारीलाई बोलाएर पनि सजग गराएको छ । “जो उत्पादक हो उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरुलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुपर्यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्यो”, डा झाले भने ।

अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानी समेत पनि अनुगमन गरिने उनले उल्लेख गरेका छन । काठमाडौँ महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गर्ने गरेका छन् । काठमाडौँमा जम्मा चार कम्पनी रहेका छन्।

अनुगमनका क्रममा जफत गरिएका पानीको जार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा पठाइएको र त्यसको रिपोर्टका आधारमा पानीमा केही समस्या देखिए महानगरको बजार व्यवस्थापन ऐन, २०७५ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

पानीपछि दूध वितरणलाई नियमन र व्यवस्थापन गर्ने महानगरको योजना छ । अहिले खुलारूपमा बिक्री वितरण भइरहेको दूध व्यवसायीलाई दर्ता प्रक्रियामा लगेर मापदण्ड पुर्याएरमात्रै बिक्री वितरणका लागि सचेतना गरिने र गुणस्तर नभए कारबाही गरिने विभागले उल्लेख गरेको छ ।