चतराघाटस्थित कोसी नदी पुलमा कार छाडेर दस दिन अघिदेखि बेपत्ता डाक्टर प्रज्ज्वल कोइराला मृत अवस्थामा भेटिएका छन् ।
भदौ १० गते आइतबार नदीमा डुबेर आत्महत्या गरेका दमक नगरपालिका वडा नं. १ घर भएका ३२ वर्षीय डाक्टर प्रज्वल कोइरालाको शव बराहक्षेत्र नगरपालिका २ को तेह्रआरडीस्थित नदी किनारमा फेला परेको हो । मंगलबार साँझ साढे ५ बजे शव भेटिएको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
मृतकका बुवा दिवाकार कोइरालाले शव पहिचान गरेको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।
नदीमा फाल हान्नुअघि डाक्टर कोइरालाले चुरोट खाएर पुलमा ओहोरदोहोर गरेको त्यहाँस्थित सिसीटिभी क्यामेरामा देखिएको थियो । उनले नदीमा फाल हानेको हो वा होइन भन्ने कुरा क्यामेराको ‘रेन्ज’ले नभेट्टाएकाले प्रष्ट नभएको डिएसपी चौधरीले बताए ।
घटनाको विषयमा अनुसन्धान थालिएको छ । सामाजिक सञ्जालमा आएजस्तो आत्महत्या गर्नुअघि कोइरालाले प्रेमिकासँग पुलमा कुरा गरिएको सिसीटिभी फुटेजबाट यकिन नभएको, त्यहाँ उनी मात्र एक्लो भएको डिएसपी चौधरीले बताए । डाक्टर कोइरालाले कोसी नदी पुलमा निजी कार, मोबाइल र जुत्ता छाडेका थिए ।