विजयपुर । धरान उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमण तीव्ररूपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरी ‘जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषण गर्ने तयारी गरेको छ । तर, धरान उपमहानगर भने डेङ्गु नियन्त्रणमा उदासिन बनेको आरोप लाग्दै आएको छ ।

शुक्रबार सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ‘जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गर्न गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको हो । स्वास्थ्य कार्यालय सुनसरीले जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीलाई अनुरोध गर्ने साउन १९ को निर्णयअनुसार प्रतिकार्य टोली (आरटीआर) को बैठकबाट अनुरोध भएको साथै साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत निर्णय गरेकाले धरानलाई डेङ्गु सङ्क्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई ‘जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको जनाएको छ । जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्दा के हुन्छ ? भन्ने जिज्ञासामा उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता भन्छन्, ‘आपतकालीन अवस्था घोषणा गर्दा सबै कुरा छाडेर डेङ्गु नियन्त्रणमा लाग्ने हो ।’ उनी थप्छन्, ‘जनशक्तिसहित सङ्घ र प्रदेश सरकार पनि लाग्छ ।’

यसरी जिल्ला प्रशासन कार्यालयले सङ्घ र प्रदेश सरकारलाई ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणा गर्न अनुरोध गर्ने निर्णय गरिरहँदा नगरप्रमुख हर्कराज राई भने डेङ्गु नियन्त्रणमा गम्भीर नबनेको आरोप लाग्दै आएको छ । शुक्रबार नगरप्रमुख राईले आफ्नो फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलोसन’ मा शनिबारको श्रमदान आजसम्मको सबैभन्दा ठूलो सहभागितासहितको हुन सकोस्’ लेखेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा साउन १६ गते बसेको डेङ्गु नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमको निर्णयसमेत बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । धरान उपमहानगरका २० वटा वडामा मात्रै १३ हजार ४ सय १२ को परीक्षण गरिएको छ । जसमा ९ हजार ४ सय ४१ जनामा सङ्क्रमण देखिएको छ । कुल परीक्षणमध्ये ७० प्रतिशतमा डेङ्गु पोजेटिभ देखिएको छ भने हालसम्म ९ जनाको मृत्यु भइसकेको छ ।