विजयपुर । बल्ला नामक सिलप्याक गरिएको एक लिटर पानीको बोतलमा ‘कोलिफर्म’ भेटिएपछि उद्योगविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ ।

सिलप्याक बोतलमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले उद्योगविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले गरेको ल्याव परीक्षण रिपोर्टमा पानीमा ‘कोलीफर्म’ देखिएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाकी खाद्य अधिकृत बादल चेम्जोङका अनुसार ल्याव रिपोर्टमा  ‘कोलीफर्म’ र  वाह्य वस्तु मिसावट देखिएको छ ।

उक्त पानी उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुने अधिकृत चेम्जोङले बताइन् । उनले भनिन्, ‘आवश्यक प्रक्रिया पूरा भएपछि मुद्दा दर्ता हुन्छ ।’ खाद्य ऐन (संशोधन २०७५ सहित) को दफा ५ दण्ड सजाय सम्बन्धी व्यवस्था रहेको छ । दफा ५ को उपदफा १ मा दफा ३ अनुसार कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

खाद्य ऐन २०२३ दफा ३ मा कुनै व्यक्तिले दूषित खाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न वा सोमध्ये कुनै एक कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न नहुने व्यवस्था रहेको छ । इटहरी–२० तरहरास्थित दिव्याश्वरी उद्योगबाट उत्पादित ‘बल्ला’ नामक सिलप्याक एक लिटरको बोतलको पानीमा ‘कोलीफर्म’ भेटिएको छ । धरान–८ वरगाछीस्थित एक किराना पसल (सन्तोष पान पसल) ले बिक्री गरेको बल्ला कम्पनीको पानीमा फोहोर फेला परेको थियो । पानीको बोतलभित्र किरा तथा साङ्लालगायतका फोहोर देखिएको थियो ।