धरान । मदन पुरस्कार–२०७९ को श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले बुधबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३ सय १३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो । यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्र्रा र सञ्जय विष्टको माटाको घर छन् ।

इजोरिया उपन्यास फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । यो उपन्यासले तराईको सामान्य परिवारको सामान्य मान्छेको कथा पस्केको छ । मधेशको भाषा, वेशभूषा, जीवनशैलीलगायत चित्रण गर्दै उपन्यासमा स्थानीय बोलीचालीको भाषाको प्रयोग गरिएको छ ।

ऐंठन उपन्यास दुई दशकअघि माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ । साङ्ग्रिला बुक्सद्वारा प्रकाशन गरिएको उपन्यासमा द्वन्द्वकालका भयावह र बर्बर घटना समेटिएका छन् । चक्रव्यूहमा नेपालको जलस्रोत गैरआख्यान हो । सिमल बुक्स पब्लिकेशनद्वारा प्रकाशन गरिएको यो पुस्तक नेपाल सरकारका पूर्व सचिव ढुङ्गेलको पेशागत अनुभवको उपज हो । यसले जलस्रोतका विषयमा प्रशासकका आँखाबाट देखिएका तथ्य उजागर गरेको छ । यसमा मुख्यतः महाकाली सन्धि र मन्त्रालयमा सोबारे गरिएको गृहकार्यको विवरण छ ।

थाङ्ग्रा उपन्यास फिनिक्स बुक्सले प्रकाशन गरेको हो । यसमा उत्पीडित वर्ग, वंश, अधिकार र अन्तरजातीय विवाहको विषय समेटिएको छ । यसमा महिलालाई गरिने विभेदको विषय र समाजका विभिन्न पाटोलाई उजागर गरिएको छ ।

माटाको घर उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । भारतको गोर्खाल्यान्ड आन्दोलनको सेरोफेरोमा बुनिएको उपन्यासमा आन्दोलन र त्यसको सामाजिक प्रभाव ऐतिहासिक तथ्यका रूपमा अगाडि नबढाई आख्यानात्मक रूपमा पस्किइएको छ ।