विश्व आदिवासी जनजाति दिवसको अवसरमा धरानमा झाकी र्याली सहित बृहत् सभाको आयोजना गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वयन परिषद् धरानको आयोजना तथा धरान उपमहानगरपालिकाको सहकार्यमा धरानमा २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइएको हो ।
बुधबार बिहान पब्लिक स्कुलदेखि सुरु भएको र्याली धरान १२ स्थित चतरालाइन हुँदै छाता चोक, सिंहदेवी चोक, माछाभौडी हुँदै धरान १५ स्थित चुम्लुङ भवनमा पुगेर बृहत् सभा कार्यक्रम गरी मनाइएको छ ।
बहु भाषिक, बहु जाती ,बहु धार्मिक र बहु संस्कृति रहेको नेपालमा आदिवासीहरूको आफ्नो पहिचान ,रीतिरिवाज र मौलिकतालाई जीवित राख्न तथा आदिवासी समुदायका हक अधिकार स्थापित गरी विकसित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालमा पनि विश्व आदिवासी जनजाति दिवस मनाइँदै आएको छ ।
वर्ष संयुक्त राष्ट्र संघले २९ औंं विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ ।
धरानमा आयोजित कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरका नगर प्रमुख हर्क साम्पाङ, विशेष अतिथि उपप्रमुख आईन्द्र विक्रम बेघा लगायत आदिवासी जनजाति नेताहरूले आफ्नो धारणा राखेका थिए दिएका थिए । मन्तव्यका क्रममा धरानका नगर प्रमुख साम्पाङले आदिवासी भनेको सभ्यता र संस्कार युक्त आफ्नो भाषा,शैली सिप कौशल बोकेर हिँड्ने समुदाय भएको बताएका छन् ।
उनले २९ औंं विश्व आदिवासी जनजाति दिवस मनाइरहँदा आफू गौरवान्वित भएको बताएका छन् । साथै उनले आदिवासी जनजाति भन्नु भन्दा पनि मूलवासी भन्नु पर्ने बताए । उनले भने ' यो आदिवासी जनताजी भन्ने दुई वटा शब्द छ, म जनजाति मान्दिन हामी एउटै मूलवासी भन्नु पर्छ । ' उनले आफूहरू जनजाति नभई मूलवासी भएको बताएका छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा आदिवासी जनताती महासंघको कानुन नीति तथा कार्यक्रमका सल्लाहकार परिषद् सदस्य शङ्कर लिम्बूले कोशी प्रदेश नामकरण खारेजीको आन्दोलनको औचित्य पुष्टि गरेका थिए । उनले संविधानमा सबैको अधिकार समान भएको उल्लेख गरिएको भए पनि विभिन्न कानुनहरूले आफूहरूको सांस्कृतिक अधिकार कुण्ठित गरेको बताएका छन् ।
त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वयन परिषद् सुनसरीका, पूर्व अध्यक्ष सुजेन्द्र गोलेले धरानका आदिवासी जनजातिको हक र अधिकार सुनिश्चितताका लागि उपमहानगरपालिकाले विशेष कार्यक्रम गर्नुपर्ने बताए । उनले हाल धरानमा डेङ्गीको सङ्क्रमण फैलिएकोले आदिवासी जनजातिहरू त्यसको चपेटामा परेको भन्दै डेङ्गी प्रकोप नियन्त्रणका लागि पनि उपमहानगरपालिकाले गम्भीर ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न जातिय समुहहरूले जातिय पहिचान तथा संस्कृती झल्किने नृत्य तथा झाकी प्रदर्शन गरेका थिए ।
* यस अघिको शीर्षक अद्यावधिक गरीको छ ।