धरान उपमहानगरपालिकाले बिना कारण जागिरबाट निकालेको भन्दै धरानस्थित घण्टाघरमा १८ वर्षदेखि कार्यरत  राजा सुब्बाले असन्तुष्टि पोखेका छन् । 

घण्टाघरको स्थापना कालदेखि नै त्यहाँ कार्यरत सुब्बालाई ‘उमेर हद’ भन्दै  धरान उपमहानगरपालिकाले निकालेकामा सुब्बाले असन्तुष्टि पोखेका छन् । उनले केही दिन अघि उपमहानगरले आफूलाई निकालिएको पत्र पठाएको भए पनि आफूले लिन नमानेको बताए । उनले नगर प्रमुख हर्क साम्पाङलाई भेटेर कुरा गर्दा समेत कुनै सुनवाई नभएको बताए । 

‘मेयर सा’बले कुरै सुन्नु भएन बरु उल्टै सम्झाउन थाल्नु भयो ।’ सुब्बाले भने ।  आफ्नो कुरा राख्ने मौका समेत नदिई नगर प्रमुख कार्यालयबाट बाहिरिएपछि आफू अन्यायमा परेको बताएका छन्  । 

सुब्बाले १८ वर्षसम्म काम गरेको भए पनि एकाएक कामबाट निकाला हुँदा आफू अन्यायमा परेको बताए । ‘हामी रोजगारी गर्ने मान्छेलाई के–को उमेर हद सकुञ्जेल काम गरेर खान पनि नपाउने ?’ सुब्बाले भने ।  


उनीसँगै लामो समयदेखि घण्टाघरमा कार्यरत धरान १४ का प्रकाश राईलाई पनि जागिरबाट निकालिएको छ । राई ८ वर्ष देखि मालीको रूपमा घण्टाघरमा कार्यरत थिए । घण्टाघरमा लामो समयदेखि कार्यरत  कर्मचारीलाई विना कुनै सेवा सुविधा निकालिएको प्रति धरानका राजनीतिक दलका नेता, पूर्व नगर प्रमुख तथा मजदुर नेताहरूले आपत्ति जनाएका छन् । 

पूर्वमेयर मनोज मेन्याङ्बोले ज्याला मजदुर गरिखाने मान्छेलाई जीवनको उत्तरार्धमा आएर उनीहरूको जीवन उपार्जनको निमित्त हेर्नु पर्ने स्थानीय सरकार प्रमुखले  खाईपाई आएको रोजीरोटी खोस्नु कति न्यायसङ्गत नहुने बताएका छन् । उनले पुराना कर्मचारीलाई जर्बजस्ती अवकाश दिएर आफ्नो नातागोता, आसेपासेहरूलाई जागिर खुवाउने अखडा बनाएको आरोप लगाएका छन् । 

त्यस्तै, मजदुर नेता भिम राई ज्वालाले उनीहरूको पुर्नवहाली गर्न माग गरेका छन् । उनले  पुर्नवहाली नगर्ने हो भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९१ ९३० को व्यवस्था अनुसार सबै सेवा सुविधाहरू उपलब्ध गराएर ससम्मान बिदाइ गर्नुपर्ने बताएका छन् । 



घण्टाघर उपमहानगरको मातहतमा गएसँगै उपमहानगरले त्यहाँ दुई जनालाई नियुक्ति दिएको थियो । नियुक्ति भएका मध्ये घण्टाघर काउन्टरमा नगर प्रमुख हर्क साम्पाङकी जेठी श्रीमती तर्फकी छोरीका श्रीमान् अभिषेक राईलाई पनि नियुक्ति दिएको पाइएको छ ।

यस्तै घण्टाघर इन्चार्जमा भने नगर प्रमुख साम्पाङले आफ्नै जेठान पर्ने अनुज भुजेललाई जिम्मेवारी दिएका बताइएको छ।   यस अघि खानेपानी व्यवस्थापन बोर्डबाट  निकालिएका चालक तेजकुमारले  समीर नामका कार्यालय सहयोगी (चौकीदार) लाई निकालेर गोपाल राई (कोपिला) लाई सिधै नियुक्ति दिएको बताएका थिए ।

 घण्टाघरमा १८ वर्षदेखि कार्यरत  सुब्बाले सिधै काम गर्न आएपछि मात्रै नयाँ कर्मचारी नियुक्त गरेको आफूले थाहा पाएको बताएका थिए  ।