धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं।५ डिकुरे डाँडामा बौद्ध गुम्बा निर्माण कार्य सम्पन्न भएको ६ महिना बित्दा पनि सञ्चालनमा ल्याउन नसकिएको स्थानीयले गुनासो गरेका छन् । 

डिकुरे डाँडा बौद्ध माने स्तुपा संरक्षण तथा सम्वर्धन् समितिका अध्यक्ष मान बहादुर तामाङका अनुसार– ‘गुम्बा निर्माण गर्ने जिम्मा लिएका निर्माण व्यवसायी असन राईले स्थानीय कामदारहरूलाई काम लगाएर भुक्तानी नदिई पैसा लिएर फरार भएपछि गुम्बा सञ्चालनमा नआएको हो ।’

अध्यक्ष मान बहादुरले भने– ‘गुम्बा निर्माणको क्रममा काम गरेका स्थानीय पहलमान तामाङको ४ लाख, ५० हजार, लाल बहादुर तामाङको ९० हजार, सुनमाया तामाङको ३६ हजार र जीवन तामाङको १५ हजार गरी जम्मा ५ लाख, २१ हजार रुपैयाँ भुक्तानी बाँकी छ ।’ उनले थपे– ‘उनीहरूले निर्माण व्यवसायीले काम गरेको पैसा नदिएसम्म गुम्बा खोल्न नदिँदै भन्दै गुम्बामा ताला लगाई दिएका छन् ।’

काम गर्ने कामदारको भुक्तानी नरोकियोस् भनेर आर्थिक वर्ष अन्त्य नभै ०८० असारको १८ गते नै नगरपालिकामा निवेदन दिएको अध्यक्ष तामाङले ब्लाष्टलाई जानकारी दिए । 

करिब २ वर्ष गुम्बामा काम गर्दा पनि अन्तिममा भुक्तानी नपाएका स्थानीय पहलमान तामाङले भने– ‘मलाई निर्माण व्यवसायी अशन राईले फकाई फकाई काम लगाए, तर, नगरपालिकाबाट भुक्तानी लिएपछि पैसा नदिई सम्पर्क विहीन भएका छन् ।’ आफूले गुम्बाको मूल ढोका, दायाँ बायाँ राखिएका झ्यालका सखुवाका काठहरू दिनुको साथै महिनौँसम्म श्रम गरेको सहित ४ लाख, ५० हजार रुपैयाँ भुक्तानी नपाएको गुनासो गरे ।

pic-3 1


‘मलाई निर्माण व्यवसायी अशन राईले नगरपालिकामा बोलाएर ४ लाख, ५० हजार रुपैयाँ दिनु पर्नेमा ३ लाखको बाउन्नस् चेक दिएर गयो’–पहलमानले भने । ’त्यो पनि बैङ्कमा नसाटिए पछि वाउन्नस चेक भन्ने थाहा पाए, पटक–पटक फोन गरे, धरानमा बस्छ भन्ने थाहा पाएर गए, तर पनि भेटिन‘–पहलमानले थपे ।

उनले केही गर्दा पनि ३ लाख रुपैयाँको चेक नसाटिए पछि जिल्ला प्रहरी कार्यालय, धनकुटा मार्फत ठेकेदार अशन राईलाई चेक वाउन्नस विरुद्ध अदालतमा मुद्दा समेत दायर गरेको बताए । पहलमानले भने– ‘मैले ४ लाख,५० हजार रुपैयाँ नपाएसम्म गुम्बा सञ्चालनमा ल्याउन नदिने भनेर गुम्बाको मूल ढोकामा ताला समेत लगाई दिएको छु ।’

यता डिकुरे डाँडा बौद्ध माने स्तुपा संरक्षण तथा सम्वद्र्धन समितिका सदस्य मेख बहादुर घिसिङ तामाङले भने निर्माण व्यवसायी अशन राईले गुम्बा निर्माणको काम नसकी नगरपालिकाबाट पैसा लिएर फरार भएको आरोप लगाएका छन् । तामाङले भने– ‘गुम्बा निर्माण गर्ने व्यवसायीले खानेपानी, विद्युत् जडान नगरेको भन्दै पाख्रीवास नगरपालिकामा समितिको तर्फबाट निवेदन दिएको छु ।’

उनले त्यसको साथै गुम्बामा जाने सिँढी तथा गेटको फिनिसिङ्ग नगरेको, पर्खालमा रङ्ग नलगाएको, गुम्बासम्म जाने सिँढीको दायाँ बायाँ गमला राख्ने काम सम्पन्न नगरेको बताएका छन् । 

सो विषयमा, पाख्रीवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङसँग ब्लाष्टले कुराकानी गर्दा उनले भने–स्थानीय कामदारहरूले पैसा नपाएको भनेर नगरपालिमा उजुरी परेपछि हाम्रै अगाडी ठेकेदार अशन राईलाई चेक काट्न लगाएको हौँ, तर खातामा पेसा नभएको चेक दिएछ ।’

बाउन्नस् चेक कामदारहरूले पाएपछि आफ्नै सहयोगमा जिल्ला प्रहरी कार्यालय धनकुटामा समन्वय गरेर अदालतमा मुद्दाको प्रक्रिया निज ठेकेदार अशन राई विरुद्ध अघि बढाइएको नगर प्रमुख गुरुङले बताए । 

पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर तामाङले गुम्बाको निर्माण कार्यको जिम्मा लिएको रोयल सार्क कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि। धरान–१३ सम्झौता र प्राविधिक स्टेटमेन्ट बमोजिम गुम्बाको निर्माण कार्य सकेर भुक्तानी लगेको बताए ।

आव ०७८/०७९ को स्वीकृत बजेट तथा कार्यक्रम मध्येबाट प्रदेश सरकार र नगरपालिकाको गरी ७१ लाख, ४२ हजार बराबरको ठेक्काको कुल स्टेटमेन्ट थियो । प्रालिले ठेक्का प्रक्रियाबाट बोलपत्र आव्हान हुँदा ४१ लाख, ५४ हजार, ४ सय रुपैयाँमा ०७८ कार्तिक ३० गते भ्याट सहित सम्झौता गरेको थियो ।

भ्याट बाहेक भने ३८ लाख, ८२ हजार, ७ सय, ९२ रुपैयाँमा योजना सम्झौता भएको थियो । उनले निर्माण व्यवसायीले भुक्तानी नदिएको विषयमा नपा जानकारी भएपछि चेक काट्न लगाइएको बताए । तर, चेक वाउन्न्स भएको छ । ‘यसमा नगरपालिकाले कारबाहीको लागि पहल गरिरहेको छ’–प्रशासकीय अधिकृत तामाङले थपे । 

योजना सम्झौता भए मध्ये प्रदेश सरकारको २३ लाख, २१ हजार, ६ सय र पाख्रीवास नगरपालिकाको १५ लाख, ४७ हजार, ७ सय गरी कुल लागत ३८ लाख, ६९ हजार, ४ सय रुपैयाँ मात्र भुक्तानी भएको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर परशुराम श्रेष्ठले बताए । उनले २ लाख, ८५ हजार रुपैयाँ स्टेटमेन्ट अनुसारको काम निर्माण कम्पनीले सम्पन्न नगरेकाले भुक्तानी नदिएको बताए । 

पहिलो सम्झौता अनुसार निर्माण कम्पनीले ०७८ चैत्र ३० गते गुम्बाका निर्माण कार्य सक्नु पर्ने थियो । प्रा।लि।ले पुनः म्याद थप गरेर ०७९ माघ १० गते गुम्बाको निर्माण कार्य सकेको भनिए पनि असार मसान्तमा मात्र पाख्रीवास नगरपालिकाले भुक्तानी दिएको थियो ।

रोयल सार्क कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि धरानले तोकिएको समयमा गुम्बाको निर्माण कार्य नसकेकाले ६ लाख, ७० हजार बराबरको हर्जाना नगरपालिकालाई तिरेको इन्जिनियर श्रेष्ठले ब्लाष्टलाई बताए । गुम्बा निर्माण परियोजनाको प्राविधिक स्टिमेट अनुसार ९३ प्रतिशत काम सम्पन्न गरेको र ७ प्रतिशत मात्र काम बाँकी रहेको इन्जिनियर श्रेष्ठको भनाई रहेको छ । उनले प्रा।लि।ले गुम्बामा बत्ती, पानी लगायतको काम सम्पन्न गरेको भए पनि शौचालयमा जाने रेलिङको काम नगरेकाले पैसा काटी दिएको बताए । 

त्यसको अतिरिक्त डिकुरे बौद्ध गुम्बालाई राम्रो बनाउनको लागि गुम्बा भन्दा केही तल भ्यागुते ढुङ्गामा प्रधान कन्स्ट्रक्सन धनकुटा–५ ले आव०७८/०७९ मा १० लाख, ४४ हजार, ६ सय ७२ रुपैयाँमा योजना सम्झौता गरेर पार्कको निर्माण कार्य सम्पन्न गरेको इन्जिनियर श्रेष्ठले बताए ।

उनले सम्झौता अनुसारको पार्कमा रिटेनिङ्ग वाल, होम पाइप राख्ने र गमला राख्ने काम सम्पन्न गर्दा ९ लाख, ११ हजार, ७ सय रुपैयाँ भुक्तानी भएको बताएका छन् । उनले सार्क कन्स्ट्रक्सन प्रा।लि। धरानको नाममा पाख्रीवास नगरपालिकाका अझै ४ लाख, ४१ हजार धरौटी बापतको रकम रहेकाले कामदार कोही कसैको अझै पनि भुक्तानी बाँकी भए मिलाउन सकिने आश्वासन दिएका छन् ।

भुक्तानीको विषयमा जानकारी लिन रोयल सार्क कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि। धरान–१३ का निर्माण व्यवसायी अशन राईलाइ टेलिफाेन सम्पर्कम गर्दा  सम्पर्क हुन सकेन ।