धरानको भौगोलिक सामाजिक अवस्था
धरान उपमहानगरपालिका पूर्वमा केराबारी गाउँपालिका मोरङ, पश्चिममा वराह नगरपालिका सुनसरी, उत्तरमा साँगुरीगढी गाउँपालिका धनकुटा र दक्षिणमा रामधुनी नगरपालिका सुनसरीको बीचमा १९२.६१ वर्गकिलोमिटर क्षेत्रफल अवस्थित छ । यो उपमहानगरपालिका समुद्र सतहदेखि १ सय १९ देखि १७ सय ७८ मिटरसम्मको उचाइमा तराई र पहाडी क्षेत्रबीच एउटा व्यापारिक केन्द्रको रूपमा रहेको छ । वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना २०६८ अनुसार तत्कालीन धरान नगरपालिका, पाँचकन्या गाविस र विष्णुपादुका गाविस गरी जम्मा ३२ हजार ६ सय ९३ घरधुरी र १ लाख ३७ हजार ७ सय ५ जनसङ्ख्या देखिन्छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा ४२ हजार ३ सय ९६ घरधुरी र १ लाख ६६ हजार ५ सय ३१ जनसङ्ख्या रहेको छ । धरान जातीय विविधताको सहर हो । सामाजिक संरचनाको अनौठो सम्मिश्रण धरानमा छ । यहाँ राई, लिम्बू, सुनुवार, याक्खा, नेवार, तामाङ, शेर्पा, गुरुङ, ब्राह्मण, क्षेत्री, दलित आदि बसोबास गर्दछन् । कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्यातीप्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभई नेपालकै नमुना र सफा सहर बन्न प्रयासरत छ । धरान महाभारत पर्वतशृङ्खलाको छेउमा अवस्थित छ साथै उत्तरको पहाड र दक्षिणको तराईको सङ्गमस्थल हो । स्वतन्त्रबाट निर्वाचित धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले विकासको लागि जनश्रमदान र विकृति विसङ्गति विरुद्धको अभियान चलाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय छ । हर्क साम्पाङको लोकप्रियतासँगै धरान उपमहानगरपालिकाको विकासको मुहार फेरिँदै गएको छ ।

धरानको जग विजयपुर
यस क्षेत्रलाई सेनकालीन समयमा विजयपुर भनिन्थ्यो । सेनकालीन समयमा यहीँबाट पूर्वको मोरङ र फेदापसम्म शासन गरेको इतिहास पाइन्छ । हाल धरान उपमहानगरपालिका वडा नं. १४ को पहाडी डाँडा क्षेत्रलाई मात्र विजयपुरको रूपमा चिनिन्छ । विजयपुरमा अहिले पनि ठूल्ठूला ढुङ्गाका किल्लाका जग देखिन्छन् । इतिहासमा उक्त भग्नावशेषलाई विजयनारानले बनाएको दरबार भनेर पढ्न पाइन्छ । विजयपुरको शिरमा भने साँगुरीडाँडा छ । इमानसिं चेम्जोङका अनुसार साँगुरीडाँडामा दश लिम्बूको शासनकालमा चौबिसे प्रान्तका राजा सोइयाक लादोहाङको राजधानी थियो । ‘साँगो’ भनेको लिम्बू भाषामा घरको धुरी हो । साँगोबाटै साँगुरीडाँडा नाम रहन गएको हो । विजयपुर डाँडादेखि पूर्वमा सेउती खोला र पश्चिममा सर्दूखोला बग्छन् । अहिलेको हात्तीसारदेखि माथि देब्रेतिरको ढिस्कोबाट अव्यवस्थित बसोबास सुरु हुन्छ, जुन वियजपुर गढीको भग्नावशेष हो । बस्तीका पेटीहरूमा ढुङ्गाका लामालामा टुक्रा तेस्र्याइएका छन् । तल बाँझो गरामा राज्यका सुरक्षाका लागि ठूल्ठूला अड्डा बनाइएका थिए । पिण्डेश्वर मन्दिरका परिसरमा अझै ढुङ्गे कलाकृति भेटिन्छन् । विजयपुरका ढुङ्गाहरूको प्रकृति त्यस वरिपरिका ढुङ्गासँग मिल्दैन । पुरातŒव विभागका अनुसार हालको धरान उपमहानगरपालिका वडा नं. ५ र ६ को बीचमा बहने सेहरा खोलाको ढुङ्गाको प्रकृतिसँग मिल्न जान्छ । विजयपुर दरबार निर्माणका क्रममा हात्तीद्वारा यी ढुङ्गाहरू ल्याइएका हुन् । ती ढुङ्गाहरू त्यहाँका स्थानीयले घर, बाटो तथा पर्खाल निर्माणमा प्रयोग गरेका छन् । विजयपुरको बारेमा धेरै विदेशी लेखक तथा इतिहास अध्येताहरूले लेखेका छन् ।  पुरातŒवविद् शङ्करमान राजवंशीले सङ्कलन गरेका सेनकालका स्याहामोहरहरूमा वि.सं. १७७९ देखि विज्यैपुर उल्लेख गरेको पाइन्छ ।

वि.सं. १८५७ तिर नेपाल आएका ब्रिटिस इतिहासकार फ्रान्सिस बुकानन हामिल्टन (१८१९–१९९० ई.) का अनुसार विजयपुर राज्यको तराई (केटोनी) मा सप्तरी, महोत्तरी, मोरङ र पहाडमा चयनपुर प्रमुख जिल्ला थिए । विजयपुर पूर्वी भेगमा कामरूप (आसाम) बाट आएका बङ्गाली भाषा बोल्ने कोच वा राजवंशी र मेचेहरूको बसोबास थियो । पश्चिम तराईमा मिथिलाभाषी गङ्गेय जातहरूको बसोबास थियो । पहाडमा खसहरू थिए । उत्तरमा भने लोहाङसेनको पालादेखि मात्रै एउटा सुब्बा (प्रशासक) राखेर चयनपुर जिल्ला स्थापना गरिएको थियो । चयनपुर जिल्लाको उत्तरमा अरुणनदी, सङ्खुवाखोला हुँदै तिब्बत, पश्चिम कौशिकी (कासी) सम्म र पूर्वमा टिस्टासम्म सिमाना थियो । विजयपुर राज्यको सीमाङ्कन गर्दा वर्तमान सप्तरी महोत्तरीदेखि टिस्टासम्मका सम्पूर्ण तराई र पहाडी भाग पर्छन् ।

हामिल्टनले उतिखेर राज्य विप्लवमा परेका अगमसिंको वृतान्तलाई भरपर्दाे मानेका छन् । अगमसिंलाई उनले अङ्ग्रेज इलाकामा पाएका थिए । राजकुमार विजयनारानका पुर्खाहरूले पहिले मोरङ राज्यको केही मैदानी भाग आफ्नो अधिकारमा पारेका थिए । विजयनारानले पुर्खाका सन्तान सिङ राजलाई आफ्नो सेवामा राखे । उनी मोरङ राज्यदेखि उत्तरतिर पहाडी भेगका वंशाणुगत राजा हुने परम्परा भएका किराती शासक खेबाङका छोरा थिए । विजयपुर राज्यमा पनि खेबाङका सन्तानलाई वंशाणुगत चौतारिया रहने नियम संस्थागत गरिएको थियो । विजयनारानले नै विजयपुर (दरबार) निर्माण गरेका थिए । आफूलाई धर्ती (संसार) को विजेता ठानेर उनले आफ्नो राज्यको नाम विजयपुर राखेका थिए । बुद्धिकर्ण विजयपुरका अन्तिम शासक थिए ।

धरानको ऐतिहासिक पृष्ठभूमि
यस ठाउँलाई धरान नामले चिन्नु अघि विजयपुर नामले परिचित थियो । पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा नेपाल अधिराज्यमा गाभिनुभन्दा अगाडि यहाँ बुद्धिकर्ण राय विजयपुरका अन्तिम लिम्बू राजा थिए । वि.सं. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.सं. १९९० को भूकम्पमा धरान ध्वस्त भएकोले जुद्ध शम्शेरले जुद्धनगर (हालको नयाँ बजार) बसालेको इतिहासमा पाइन्छ । उक्त नगरहरूलाई समग्रमा धरान नगर पञ्चायत भनिन्थ्यो । वि.सं. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटीस गोर्खा भर्ती केन्द्र धरानको स्थापना भएपछि मुख्य रूपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । नेपाल गजेट (मार्ग ६ गते २०१६) मा धरान नगरपालिकाको घोषणा भएको भनिए तापनि वि.सं. २०१४ मङ्सिर १ गते घोषणा भएको धरान नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा स्वर्गीय केदारनाथ खनाल प्रमुख र कृष्णप्रसाद श्रेष्ठ उपप्रमुख थिए । धरान नगर पञ्चायतबाट धरान नगरपालिका घोषणा हुनुअघि हालको भानुचौकपूर्वमा बाँजोगरा पञ्चायत पश्चिमपट्टि घोपा पञ्चायत थियो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेसँगै धरान नगरपञ्चायत, घोपा गाउँ पञ्चायत र बाँजोगरा गाउँ पञ्चायतलाई समायोजन गरी धरान नगरपालिकाको घोषणा भयो ।

शुरुमा ९ वटा वडा रहेकोमा २०१९ सालमा २ वटा वडा थप गरी ११ वटा वडाहरू बनाइएकोमा वि.सं. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिमतर्फ रहेको घोपा गाउँ पञ्चायतका केही क्षेत्रलाई गाभेर १९ वडामा धरानलाई विभाजन गरिएकोमा नेपाल सरकारको मन्त्रिपरिषद्ले वि.सं. २०७१ वैशाख २५ गते धरान नगरपालिकामा पाँचकन्या गाविसलाई गाभी २३ वडा कायम गरियो । पुनः वि.सं. २०७१ मङ्सिर १६ गते ६१ ओटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने क्रममा धरानलाई पनि नगरपालिकाबाट उपमहानगरपालिका विस्तार गरिएको हो । धरानलाई उपमहानगरपालिका घोषित गर्दा यसमा विष्णुपादुका गा.वि.स.लाई समावेश गरी २७ वटा वडाहरू कायम भयो । मिति २०७२ को नेपालको संविधानले पुनः केही वडाहरू एक अर्काेमा समायोजन गरी हाल २० वटा वडामा कायम भएको छ ।

धरानको नामकरण
हालको आधुनिक धरान सहर रहेको स्थानमा पहिले घना जङ्गल रहेको र सो जङ्गलको फँडानीको क्रममा काठ चिर्ने आरावालहरूले तयार गर्ने गरेको धरानबाट नै आजको सहरको नामकरण भएको भन्ने भनाइ छ । अर्कोतिर बयलगाडाहरू धरान (विश्राम) गर्ने ठाउँलाई धरन भनिन्छ । मधेसबाट आएका बयलगाडाहरू हालको सिंहदेवी चौक परिसरमा ‘धरन’ गरिन्थ्यो । त्यस ठाउँलाई ‘धरन’ भन्दा भन्दै पछि धरान भन्न थालियो भन्ने मत पनि पाइन्छ । धरानको नामकरण बारेमा पाइएका विभिन्न मत अभिमतहरू निम्न रहेका छन् – 

थारूहरूले गोरुगाडा अड्याउने ठाउँलाई धर वा धरन भन्दछन् । उतिखेर यस ठाउँमा तराईबाट आएका गोरुगाडा अड्याउने ठाउँ पुरानो बजारको सिंहदेवी चौकमा थियो । उक्त धर वा धरन बाट धरान भएको हो । (नेपाल, २०६२ फाल्गुन १४, शनिबार, गोर्खापत्र)

बयलगाडीमा विभिन्न किसिमका खाद्यान्न धान, दाल, तोरी, आलु, फर्सी, लसुन, कोबी, भण्टालगायत खेती गर्ने हरुवाहरूले ल्याइदिन्थे । बयलगाडाहरू विजयपुर डाँडामा चढ्न सक्ने त कुरै थिएन । त्यसैले अहिलेको सिंहदेवी मन्दिर भएको ठाउँमा ती सबैका बयलगाडाहरू धरन (विश्राम) गर्न लगाई राखिन्थे । सबैका बयलगाडामा ल्याइएका सामानहरू अहिलेको दुईधारे, तीनधारे हुँदै विजयपुर डाँडामा भएका घरहरूमा बोकेर पु¥याउने गर्थे । बयलगाडाहरू तलै धरन गरी राखिन्थे । त्यसरी बयलगाडाहरू धरन गर्ने चलन हुँदाहुँदै त्यस ठाउँलाई धरन धरन भन्दाभन्दै पछि धरान भन्न थालियो । (अधिकारी २०७७ ब्लाष्ट, धरानको उत्पत्ति १)

हालको आधुनिक धरान सहर रहेका स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालहरूले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको हो । (खतिवडा २०७९)
मजदुरको हातबाट निस्केको आवाजको प्रतिफल र साँच्चै नेपाली कर्मकर हातहरूले निर्माण गरेको र नाम दिएको सहर हो । धरानमा सखुवा (साल) को जङ्गल थियो । बस्ती विकास हुने क्रममा यहाँ जङ्गल फँडानी गर्दा ठूला–ठूला काठका धरान थापेर काठका टुनहरू चिर्ने, तखता निकाल्ने, घर बनाउन योग्य हुने काठ निकाल्ने, प्रयोजनमा थापिएको ‘धरान’ नामबाट नै धरान नामकरण भयो ।
(दाहाल २०७९)

यसरी धरन धरन हुँदै धरान बजारको विकास हुँदै गयो । रैती ल्याई बसोबास गराउने व्यवस्था मिलाउनुपर्ने भयो । यसका निम्ति धनकुटा निवासी शेरबहादुर राईले मौजा पाए । उनले केही समय काम गरी राम्रो व्यवस्था मिलाउन नसक्दा धनकुटाकै गौरीमान श्रेष्ठले उनको मौजा खरिद गरी जिम्दारी चलाए  यसमा अन्य कुनै इतिहासको लेप छैन । जसरी काठमान्डु, वीरगन्ज, विराटनगर, वीरेन्द्रनगर आदि अनेकौं सहरहरू नाम फेर्दै आएका छन् । तर, धरान त्यसरी ऐतिहासिक रूपमा फेरिँदै नयाँ हुँदै आएको सहर होइन । यो काठ काट्ने कर्मीले नाम दिएको सहर हो । (अधिकारी २०७७ ब्लाष्ट, धरानको उत्पत्ति २)

धरान भन्नाले आरा वा काठ काट्नको लागि बनाएको चाङ हो । आज पनि पहाडी तथा हिमाली क्षेत्रमा आरा वा क्षेत्रबाट आरा वा काठ काट्न केही काठ काट्नेहरूले सो चाङलाई धरान नै भन्ने गर्दछन् । यस घना जङ्गलबाट काठ निकासी भारततर्फ गरिन्थ्यो । पहाडी मानिसहरू लर्काे लाग्ने गर्थे । यस घना जङ्गलभित्र जताततै काठ काट्ने चाङ (धरान) भएकोले धरान नामकरण गरिएको हो । (कँडेल २०५६)

धरानका वरिष्ठ पत्रकार, लेखक तथा विश्लेषक भवानी बरालका अनुसार राणाकालमा हालको विजयपुरमा मात्र मानव बस्ती थियो । उतिखेर अहिलेको सिंहदेवी चौकमा बयलगाडाहरू धरन गरिन्थ्यो । बयलगाडाहरू थुप्रै हुन्थे । यहीँबाट सामानहरू आयात निर्यात गर्ने गरिन्थ्यो । त्यसैले ‘धरन’ बाट नै ‘धरान’ नामकरण भएको हो । आरा त उतिखेर यहाँ मात्र होइन, जताततै काटिन्थ्यो, अरूतिर पनि धरान नामकरण हुनुपर्ने हो । त्यसैले आरा काट्ने धरापबाट धरान भएको तर्कसङ्गत छैन ।

माथि उल्लेखित मत अभिमतहरू अध्ययन गर्दा धरन र धरापबाट धरान भएको देखिन्छ । दुवै मत आ–आफ्नै ठाउँ तर्कयुक्त छन् । जुनै पक्षबाट हेरे पनि श्रम र श्रमिकसँग जोडिएर नामकरण भएको एक सुन्दर नाम हो । धरानको नामकरण कर्मविशेषसँग जोडिएको छ । आज धरान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित छ ।

निष्कर्ष
धरान उपमहानगरपालिकाले वि.सं. २०७९ जेठमा प्रकाशन गरेको धरान निरूपण पुस्तकको आवरण तथा पुस्तकभित्रका आलेखहरूमा आरा वा काठ काट्नको लागि बनाएको चाङ (धरान)बाट नै धरान नामकरण भएको भनी एक पक्षीय व्याख्या गरिएको छ । यस पुस्तकका लेखकहरूले धरानको नामकरणको इतिहासबारे गहिरो अध्ययन देखिँदैन । त्यसैगरी धरान उपमहानगरपालिका वडा नं. १३ को  श्रम संस्कृति पार्कमा आरा–धरानको स्तम्भ निर्माणाधीन अवस्थामा छ । वास्तवमा यसले मात्र धरानको इतिहास बोक्दैन । तत्कालीन समयमा देशैभरि आरा–धरान बनाई काठ काटिन्थे । अन्य ठाउँमा कतै धरान नाम भएन । आरा–धरानको भन्दा गतिलो इतिहास विजयपुरसँग जोडिएको धरन हो । धरन नै पछिल्लो समयमा अप्रभंश भई धरान भएको इतिहासहरू प्रशस्त छन् । त्यसैले यस क्षेत्रको वास्तविक इतिहासलाई खोज अध्ययन गरी सोही ठाउँमा प्रतिकात्मक रूपमा धरानको इतिहास झल्किने पार्क निर्माण गर्नु आजको आवश्यकता हो । जसले धरानको वास्तविक इतिहास संरक्षण गर्नुका साथै धरानलाई पर्यटकीयस्थल बनाउनमा ठूलो सहयोग पुर्याउँछ । पूर्वको सबैभन्दा गतिलो इतिहास भएको भूगोल विजयपुर हो । धरानको जिउँदो इतिहास विजयपुर हो । विजयपुर दरबार परिसरमा भएका भग्नावशेषको रूपमा रहेका ठूला ठूला बुट्टेदार ढुङ्गाहरू दिनदिनै हराइरहेका छन् । सेनकालीन दरबारको परिकल्पना गरेर त्यहाँ रहेका भग्नावशेषसमेत प्रयोग गरी सेनकालीन विजयपुर दरबारको आकृति निर्माण गर्नु ऐतिहासिक कार्य बन्नेछ । उक्त कार्यको लागि स्थानीय सरकारको लगानी तथा नेतृत्वमा जनसहयोग र जनश्रमदानको आह्वान गरी निर्माण गर्ने हो भने सफल नहुने कुरै भएन । यसो गरिएमा पूर्वकै ऐतिहासिक पर्यटकीय स्थल बन्नेछ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको लोकप्रियता दिगो हुनेछ ।

सन्दर्भसामग्रीः
– अधिकारी, देवराज (२०७७) धरानको उत्पत्ति १, ब्लाष्ट टाइम्स राट्रिय दैनिक वर्ष २६, अङ्क १२०, पूर्णाङ्क ८८४६, २०७७ फागुन ३ गते सोमबार ।
– अधिकारी, देवराज (२०७७) धरानको उत्पत्ति २, ब्लाष्ट टाइम्स राट्रिय दैनिक वर्ष २६, अङ्क १२२, पूर्णाङ्क ८८४८, २०७७ फागुन ५ गते बुधबार ।
– अधिकारी, देवराज (२०७७) धरानको उत्पत्ति ३, ब्लाष्ट टाइम्स राट्रिय दैनिक वर्ष २६, अङ्क १२३, पूर्णाङ्क ८८४९, २०७७ फागुन ६ गते बिहीबार ।
– आचार्य, लक्ष्मी (वि.सं. २०३०), देशको माटो देशको ढुङ्गा (भाग १ र २), धरान नगर पञ्चायत ।
– कँडेल, रामचन्द्र (२०५६) धरान नगरका समीपस्थ धार्मिक स्थलहरू, धरान उत्सव स्मारिका, धरान नगरपालिका ।
– खतिवडा, खगेन्द्र (वि.सं. २०७९), धरान नगरपालिकाको परिचय, धरान निरूपण, धरान उपमहानगरपालिका २०७९ ।
– चेम्जोङ, इमान सिंह, (वि.सं. २०३१), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास, नेपाली साहित्य प्रतिष्ठान, दार्जिलिङ ।
– दाहाल, हरिप्रसाद, (वि.सं. २०७९), धरान इतिहास र वर्तमान, धरान निरूपण, धरान उपमहानगरपालिका २०७९ ।
– नेपाल, ज्ञानमणि (वि.सं. २०६२), धरान, फाल्गुन १४, शानिबार, गोर्खापत्र ।
– Hamilton, Francis 1819 AD,  An Account of Kingdom of Nepal London.
–Kirkpatric, Kolonel, 1969, An Accof Nepal, ount of The Kingdom, New Delhi Manjushree Publication House.
–Kuloy, H.K. 1972, BIBLIOTHECA HIMALAYICA, SERIES I VOLUME 8 , THE GAZETTER OF SIKKIM, Manjushri Publishing House, New Delhi .
–Risley, H.H. 1892 voll II The Tribes And Castes of Bengal.
–Vansittart, Eden, 1890, THE GOORKHAS, Anmo`l Publications, New Delhi India.
–Wright, Daniel, 1877,  HISTORY OF NEPAL,