धरान । सामाजिक सञ्जाल फेसबुकमा केही समययता धरान उपमहानगरपालिकाको ‘डोर हाजिरी’ घटना निकै तात्तातो विषय बनेको छ । डोर हाजिरीमा भएको ‘कैफियत’ (रिमाक्र्स) को विषय र नभएको विषयले नगर प्रमुख हर्कराज राई (साम्पाङ) पक्षधर र इतर पक्षधरबीच वाक्युद्ध नै चलेको छ ।
खासमा डोर हाजिरीको सत्य यो हो भन्दै एउटा पक्षले फेसबुकमा हालेको देखिन्छ । यसमा नेकपा (एमाले) का युवा नेता नवराज राई, नेकपा (माओवादी) का नगर इन्चार्ज चोत्लुङलगायतले डोर हाजिरीको सत्य भन्दै फेसबुकमा सार्वजनिक गरे । यी नेताहरूले सार्वजनिक गरेको डोर हाजिरीमा कैफियत कहीँकतै देखिँदैन । अर्को पक्षले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् नै सार्वजनिक गरेको डोर हाजिरी फारममा भने ‘कैफियत’ देखिन्छ । सामाजिक सञ्जालमा ‘हट केक’ बनेपछि अग्रज पत्रकार हर्ष सुब्बाले बुधबार प्रश्नात्मक शैलीमा लेखिदिए, “फेसबुकमा भाइरल २ डोर हाजिरीमा कुन सक्कली भन्ने प्रमाणीकरण चैं मेटा हेडक्वार्टरले गर्छ ?” उनले व्यङ्ग्यात्मक ढङ्गले लेखेको भए पनि डोर हाजिरीको कैफियतबारे जानकार निकायबाट भने जवाफदेहिता रहेको देखिँदैन ।
सामाजिक सञ्जालमा दुई पक्षबीचको वाक्युद्ध भइरहेकै बेला डोर हाजिरीको विषयमा बहुभाषिक विद्यालय पश्चिम सर्दू रोकथाम समितिका अध्यक्ष प्रसाद राईले फेसबुकमा मङ्गलबार राति प्रत्यक्ष प्रसारण गर्दै भनेका छन्, “यस्तै तपाईंले गर्छ भनेर डोर हाजिरीमा रिमाक्र्स लेखेको छु । नेपालीमा कैफियत भन्छ । अङ्ग्रेजीमा रिमाक्र्समा लेखेको छु । श्रमदाताले रकम नलिएको भनेर लेखेको छु ।” उनलाई ब्लाष्टले फोनसम्पर्क गरी यसबारे थप बुझ्ने काम गरेको थियो । उनले फोनसम्पर्कमा पनि सोही कुरा दोहो¥याउँदै भने, “अनग्राउन्डमै नगरपालिकाका कर्मचारी किरण भुजेलकै उपस्थितिमा रिमाक्र्ससहित लेखिएको थियो । रिमाक्र्स १४ नम्बर बुँदामा थियो । तर रिमाक्र्स चाहिँ खिचेनन् । १३ नम्बरसम्म मात्रै देखाइएको छ । ८ वटा पेज छ ।”
सत्य यो हो भन्दै सार्वजनिक गरिएका युवा नेताद्वय नवराज राई र चोत्लुङले पोष्ट गरेको सामग्रीमा १३ नम्बर बुँदासम्म मात्रै देखिन्छ । प्रसाद राईले भनेजस्तै १४ नम्बर बुँदा उल्लेख भएको देखिँदैन । यस विषयमा सुरुदेखि नै फरक धारणा राख्दै आएका धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले फोनसम्पर्कमा भने, “सुरुमा रिमाक्र्स थिएन । फाइल बोक्ने उहाँहरू (नगर प्रमुख तथा उनका मान्छेहरू) नै हो ।” अध्यक्ष राईले दाबी गरे पनि केही दिनअगाडि फेसबुकमै सार्वजनिक भएको डोर हाजिरी फारमको १४ नम्बर बुँदामा पनि कैफियत लेखेको देखिँदैन । फेसबुकमा लेख्ने साम्पाङ इतर पक्षले कैफियत पछाडि हालिएको भनी तर्क गरिरहेका छन् । कैफियतबारे जानकार रहेको भनी समितिका अध्यक्ष प्रसाद राईले भनेका आधारमा धरान उपमहानगरपालिकाका योजना शाखाका कर्मचारी किरण भुजेललाई फोनसम्पर्क गरी बुझ्दा भने, “होला, त्यो त मलाई थाहा भएन । मलाई थाहा छैन ।” कर्मचारी भुजेलको भनाइले भने थप आशङ्का पैदा गरेको छ ।